नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ मा

72
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा पुगेका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।

भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले सोमबार दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ ।

आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएका थिए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।


आजको प्रस्तुतिपछि भएको भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर भोट दिन सकिनेछ। तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् । २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन् । ६ वर्षअघि अमेरिका गएका हुन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •