दिवंगत अधिकारीद्वय असाधारण व्यक्ति : प्रधानमन्त्री

382
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी असाधारण व्यक्ति भएको बताएका छन् ।

भृकुटी मण्डपमा नेकपाले बिहीबार आयोजना गरेको संयुक्त श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारीका कामलाई कसैले बिर्सनै नसक्ने बताए ।

नेकपाले एक साताअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जना र नेकपाका अग्रज नेता भरतमोहन अधिकारीको निधनमा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संस्कति,नागरिक उड्ययन र पर्यटनको क्षेत्रमा एक वर्षमा गरेका काम असाधारण छन् । अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउनेको समय छ । केही पनि भएन, हुँदै भएन भन्ने गरिएको छ । यो त मान्छेको बानी नै हो ।’

बुधबारमात्रै अस्पताल भर्ना भएका नेकपाका अध्यक्ष समेत रहेका ओलीले सभामा संक्षिप्त मन्तव्य राख्दै हेलिकोप्टर दुर्घटनामा दिवंगत सातै जनाले मुलुकको लोकतन्त्र, राजनीतिक स्थायित्वका लागि अहम् भूमिका खेलेको चर्चा गरेका थिए ।

पर्यटन व्यवसायीले त छोटै समयमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै मुलुकको सिंगो आर्थिक क्षेत्रले सदैव सम्झिइरहने बताए ।

पूर्वअर्थमन्त्री अधिकारीको यही फागुन १८ गते निधन भएको थियो भने मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको फागुन १५ गते ताप्लेजुङको दारेढुंगामा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र अधिकारी, भरतमोहन अधिकारीजस्ता नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताए ।


मृतकहरुले गर्न चाहेका, गर्न खोजेका राम्रा कामलाई अगाडि बढाए मात्रै उनीहरुप्रति गरिने श्रद्धाञ्जलीको सच्चा सम्मान हुने भन्दै पार्टीले उनीहरुले अघि बढाएको राम्रा कामलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताए ।
शोकलाई उर्जामा बदल्दै राष्ट्र निर्माणको काममा सकारात्मक योगदान दिनेगरी पार्टीले काम गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे ।


  •  
  •  
  •