मधुमेह सम्बन्धी केहि व्यावहारिक कुरा

471
  •  
  •  
  •  

डा. रवीन्द्र पाण्डे

आजभन्दा २० वर्ष पहिले नेपालमा मधुमेह निकै कम व्यक्तिलाई थियो । औषधिको नाममा Glyciphage ( Metformin ) मात्र पाइन्थ्यो । मधुमेह भएका व्यक्ति मुख बारेर कसरी जीवन चलाउँछन् जस्तो लाग्थ्यो ।

विगत केहि वर्षदेखिको ट्रेन्ड हेर्ने हो भने लगभग हरेक परिवारमा मधुमेहले प्रवेश गरेको छ । मधुमेहको औषधि दर्जनौं चलिरहेका छन् । नेपालमा करिब २५ लाख व्यक्तिलाई मधुमेह भएको छ । परीक्षण नगरेको जनसंख्या निकै ठूलो छ । मधुमेहको कारण किड्नीको समस्या, आँखाको समस्या, मस्तिष्कको समस्या तथा मुटुको समस्या भएका गम्भीर बिरामीको संख्या बढ्दो छ । उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टेरोल ३ भाइ बनेका छन् । यी समस्याको कारण मृत्युदर निकै बढेको छ ।

शारीरिक अभ्यास कम हुनु, मानसिक तनाब बढी हुनु, खाना बिषादीयुक्त / पोलिस गरेको / जंक फुड आदि हुनु, मासु / मिठाइ / भात / आलु / कोल्ड ड्रिंक्स / क्यान जुस आदि प्रमुख बन्नु, आरामदायी जीवनशैली हुनु, यातायात तथा प्रविधिको कारण अल्छीपना बढ्नु, मानसिक रोग आदिको औषधिको प्रयोग धेरै हुनु, शारीरिक तौल बढ्नुजस्ता बिबिध कारणले मधुमेह नसर्ने रोगको नेतृत्वमा पुगेको छ ।

हामीले पर्याप्त शारीरिक परिश्रम गर्ने, हिंड्ने, सकभर अर्गानिक र प्युरिफाई नगरेका खाना खाने, शारीरिक तौल बढ्न नदिने, कोल्ड ड्रिंक्स र बाहिरको खाना नखाने, फुर्तिलो र सक्रिय जीवनशैली अपनाउने तथा समयसमयमा रगत र पिशाबको परीक्षण गर्ने हो भने समयमै मधुमेहजन्य समस्याको रोकथाम गर्न सकिन्छ ।

मधुमेह देखियो भने औषधि सेवन नगर्ने, आफै ठिक पार्छु भनेर अनुपयोगी कुरा खानु तथा एकपटक औषधि खायो भने सधै खानुपर्छ भनेर औषधि नखाई बस्दा एक्कासी रगतमा चिनीको मात्रा बढेर बहुअंगमा असर गर्दछ । मधुमेह रोटी खाएर नियन्त्रण हुँदैन । मधुमेह भएको व्यक्तिले अनावश्यक मुख बार्नु अर्को समस्या हो । भात र रोटीमा कार्बोहाइद्रेटको मात्रा थोरै मात्र फरक हुन्छ । चिकित्सकको सल्लाह अनुसार मधुमेहको औषधि सेवन गरेका व्यक्तिले पुरै मुख बार्नु पर्दैन । भात, रोटी, आलु, फलफूल ठिक्क मात्रामा खान सकिन्छ ।

खानामा १ भाग अन्न, १ भाग सलाद ( काँक्रो, गाजर, मुला आदि ), एकभाग सागसब्जी, एकभाग दाल वा मासु /अण्डा तथा १ गिलास दुध खाने हो भने खानाको कारण मधुमेह बढ्दैन । चिनी, ग्लुकोज, मिठाइ, उखुको रस, कोल्ड ड्रिंक्स त्याग्नु नै पर्दछ । सागसब्जी, फलफूल, सलाद, बोंसो नभएको मासु, अण्डा आदि खान सकिन्छ । खानाको मात्र ठिक्क र परिश्रम बढी गर्यो भने मधुमेहले दु:ख दिँदैन ।

इन्सुलिन सुइ बारे अर्को भ्रम छ । इन्सुलिन लास्ट स्टेजमा प्रयोग गर्ने औषधि हैन । चिकित्सकले आवश्यक देखेमा जुनसुकै बेला इन्सुलिन प्रयोग गर्न सकिन्छ । यो झन्झटिलो भएपनि सुरक्षित र प्रभावकारी छ ।

माइल्ड खालको मधुमेह नियन्त्रण गर्नको लागि हर्बल तथा घरेलु उपचार पनि प्रभावकारी छ । हामीले खाने करेला, परबर, लौका, जामुन, अम्बा, किवी, कागती, मेथी लगायतका खानपिनले पनि मधुमेह नियन्त्रण गर्न सहयोग गर्छन् । योग पनि उपयोगी छ ।

कुनै पनि प्याथीको लागि हामी हैन, हाम्रो लागि प्याथी हुन् । उपचारको लागि एलोप्याथी, आयुर्बेद, होमियोप्याथी, नेचुरोप्याथी जुनसुकै अपनाउन सकिन्छ । तर त्यो औषधिले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गरेको प्रमाण ( ल्याब टेस्टबाट ) हुनुपर्यो ।

आजकाल सस्तोमा सुगर नाप्ने ग्लुकोमिटर, स्ट्रिप र निडिल किन्न पाइन्छ । घरमै आफैले आफ्नो रगतमा ग्लोकोज्को मात्रा हेर्न सकिन्छ । ग्लुकोमिटरले एकुरेट नदेखाए पनि औसत हेर्न सकिन्छ । ग्लुकोमिटरले नाप्दा बढेको देखियो भने ल्याबमा टेस्ट गर्नुपर्दछ । खाली पेट र खाना खाएको २ घन्टामा रगत जाँच गर्दा आफ्नो सुगरको लेभल थाहा हुन्छ । यो जाँच सस्तो र सबै ल्याबमा गर्न सकिने खालको छ ।

बिज्ञापनको लहलहैमा लागेर महंगा सप्लिमेन्ट खाएर सुगर नियन्त्रण हुँदैन । कुनै पनि औषधिले मधुमेह च्वाट्ट निको हुँदैन । एकपटक मधुमेह भयो भने प्रायः जीवनभर औषधि खानुपर्ने हुन्छ । हामीले दाल, भात, तरकारी सँधै खाएझैँ आफ्नो लामो आयु बाँच्नको लागि सँधै औषधि खान अप्ठ्यारो मान्नुहुँदैन । सुगरको औषधि सस्तो छ । अहिले सुगरको औषधिको व्यापारीकरण भएको छ । जसले गर्दा महंगा महंगा औषधि भिडाउने गलत प्रवृति बढेको छ । सरकारले सधै खानुपर्ने औषधि नि:शुल्क गर्नुपर्दछ । परिक्षण नि:शुल्क गर्नुपर्दछ । हरेक गाउँमा जनचेतना, नि:शुल्क परीक्षण र औषधि उपलब्ध गराउनु पर्दछ । यसो गर्न सकेमा मधुमेह दिवसको औचित्य सार्थक हुन्छ ।


  •  
  •  
  •