सिनियर टिममा परेनन् धोनी

43
  •  
  •  
  •  

नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई पहिलोपल्ट आफ्नो वार्षिक सम्झौताबाट बाहिर राखेको छ । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर टिमका २७ खेलाडीको वर्गीकरणमा धोनीको नाम समावेश छैन ।

६ महिनाअघि एकदिवशीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टिमबाट विश्राम लिएका छन् ।

उनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैंले पनि निर्णय नलिएका बेला बीसीसीआईको यो वर्गीकरण सार्वजनिक भएको हो । अघिल्लो वर्षको वर्गीकरणमा धोनी ‘ए’ क्याटागोरीमा परेका थिए ।
पछिल्लो वर्गीकरणमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई चार क्याटागोरीमा विभाजन गरिएको छ । कप्तान विराट कोहली, शीर्ष ब्याट्सम्यान रोहित शर्मा र फाष्ट बलर जसप्रित बुमराह गरी तीन खेलाडी ‘ए’ प्लस क्याटागोरीमा छन् । उनीहरुले बार्षिक ७ करोड भारु पारिश्रमिक पाउनेछन् ।

‘ए’ क्याटागोरीमा रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या राहणे, केएल राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव र ऋषभ पन्त गरी ११ खेलाडी समावेश छन् । उनीहरुले वार्षिक ५ करोड भारु पारिश्रमिक पाउनेछन् ।

त्यस्तै ‘बी’ क्याटागोरीमा ऋद्धिमान शाह, उमेश यादव, युजवेन्द्र चहल, हार्दिक पन्ड्या र मयंक अग्रवाल गरी ५ खेलाडी समावेश छन् । उनीहरुले वार्षिक ३ करोड भारु पारिश्रमिक पाउनेछन् ।
चौथो वरियता अर्थात ‘सी’ क्याटागोरीमा केदार जादव, नवदीप सैनी, दीपक चहर, मनिष पान्डे, हनुमा बिहारी र सार्दुल ठाकुर, श्रीयाश आयर र वाशिंटन सुन्दर गरी ८ खेलाडी छन् । उनीहरुले वार्षिक १ करोड भारु पारिश्रमिक पाउनेछन् ।


  •  
  •  
  •