‘धर्तीमाता’ विरुद्ध जाहेरी

706
  •  
  •  
  •  

काठमाडौं । अघिल्लो साता काठमाडौं भद्रकालीमा बोक्सी भगाउने भन्दै युवतीमाथि कुटपिट गर्ने धर्तीमाता ‘विष्णु कुँवर’ विरुद्ध जाहेरी दिइएको छ ।

कुँवरविरुद्ध मानवअधिकारकर्मीहरुले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । भद्रकाली मन्दिर परिसरमा दर्शन गर्न आएकी युवतीलाई बोक्सी कबुल गराउन अत्यन्तै क्रूर तरिकाले शारीरिक र मानसिक यातना दिएको भिडियो सार्वजनिक भएको थियो ।

यद्यपि धर्तीमाताले यातना दिएकी पीडित युवती भने सम्पर्कमा आएकी छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका कृष्णकुमार चन्दले पीडित युवतीको समेत जाहेरी आएपछि माताविरुद्ध संयुक्त मुद्दा दर्ता गर्ने तयारी गरिएको बताए ।

अधिवक्ता शशी बस्नेतसहित अन्य ६ जनाले दिइएको जाहेरीमा धर्तीमाताले सयौं मानिसको भिडमा, सार्वजनिक स्थलमा, प्रहरीको सुरक्षा घेराभित्रै एक युवतीमाथि अपमानजन्य व्यवहार गरेको भन्दै फौजदारी अपराध संहिताको परिच्छेद १० अन्तरगत ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर’ को दफा १६८ (१) बमोजिम कार्वाहीको माग गरिएको छ ।

उक्त भिडियोमा माताले ‘तँ को हो, छिटो निस्की’ भनेर युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस् ? तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको देख्न सकिन्छ । के भन्छ अपराध संहिताले ? मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –१० ले भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको व्यवस्था गरेको छ ।

सोही परिच्छेदको दफा १६८(१) ले कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन भनि उल्लेख गरेको छ ।

त्यसैगरी सोही परिच्छेदको दफा १६८(१) को (क) ले बोक्सा बोक्सीको आरोप लगाउने, तथा (ख) ले बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाँउबाट निकाला गर्ने, साथै (ग) ले सामाजिक बहिष्कार गर्ने, वा (घ) ले अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्ने कार्य भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको रुपमा परिभाषित गरेको छ ।

जाहेरीमा प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –१० को दफा १६८(१)बमोजिमको कसूरमा दफा १६८(२) बमोजिम अधिकतम हदसम्म कारवाहीका साथै पिडीतलाई कानुन बमोजिम क्षतिपूर्तिसमेत माग गरिएको छ ।

उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ । महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।

उपदफा (३) बमोजिमको कसूर गर्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ ।

यो पनि हेर्नुहोस्

‘धर्ती माता’ भन्दै यातना दिने महिला पक्राउ


  •  
  •  
  •