धर्म निरपेक्षताले मात्र सहिष्णुता हुँदैन

176
  •  
  •  
  •  

प्रा.डा.प्रदीपकुमार खड्का
नेपाल प्राकृतिक दृष्टिकोणले एक भूपरिवेष्ठित पहाडी मुलुक हो । यहाँ संसारको सबै भन्दा अग्लो चुचुरो सगरमाथा विश्व प्रसिद्ध छ । ऐतिहासिक दृष्टिकोणले नेपालमा ज्यादै प्राचीनकालदेखि मानिसको बसोबास भई आएको पाईन्छ । त्यसै अनुरुप यहाँको संस्कृति परम्परा रीतिरिवाज तथा धर्म पनि सदाकालदेखि सनातन धर्म अर्थात हिन्दु र बौद्ध धर्म सहिष्णुता साथ चलिआएको सर्वविदितै छ ।
मध्यकालिन समयमा जब भारतमा मोगल सम्राटको आगमन पछि हिन्दु तथा बौद्ध, जैन सनातन धर्मको अलावा इश्लाम धर्मको प्रवेश भयो र त्यसैको फलस्वरुप नेपालमा पनि इश्लाम धर्मको प्रवेश त्यसै बेलादेखि भएको पाइन्छ । भारतमा इष्ट –इण्डिया कम्पनीको आरम्भकालदेखि पश्चिमी इसाई धर्म भारतीय भूमिमा फैलिन थाल्यो ।
नेपालमा पनि अठारौँ शताब्दीमा केही इसाई पादरीहरु मिशनको रुपमा धर्म प्रचार गर्न आएकाले आधुनिक नेपाल राज्यको निर्माता पृथ्वीनारायण शाहले विदेशी धर्म प्रचारकलाई नेपालमा प्रवेश गर्न कडा प्रतिबन्धको नीति अपनाएको पाइन्छ ।
त्यसो भएतापनि नेपालको एकीकरण (सन् १७६८ ई) पश्चात नेपाल अधिराज्यमा बस्ने नेपालीहरु प्रति पृथ्वीनारायण शाहको समान दृष्टि थियो । जुन उनको उक्ति “नेपाल चार वर्ण ३६ जातको फूलबारी हो” भन्ने भनाइबाट प्रमाणित हुन्छ ।
राजनैतिक दृष्टिकोणले वर्तमान नेपाल अधिराज्य एकिकरण हुनु अगाडि विभिन्न २२ सि र २४ सी राज्यमा विभाजित भएको र त्यसै अनुरुप आपसमा लडाई र झगडा भईरहन्थ्यो, राज्यको खिचातानीको निम्ति । तर नेपालमा छिमेकी भारतलगायत अन्य मुलुकमा झै धार्मिक कारणले लडाई कहिल्यै पनि भएन ।
यद्यपिभारतबाट केही मुस्लिम जाति काठमाडौंमा आए र आक्रमण गरे तर उनीहरुको हमला यहाँ नगन्य रुपमा भयो । भारतमा अंग्रेजको शासनकालमा इसाई धर्म दुई किसिमले फैलियो । अंग्रेजहरु भारतमा बस्दा भारतीय नारीसँग विवाह गरेर आफ्नो इण्डियन वर्गलाई जन्म दिए ।
जुनजन्मैदेखि इसाई भए र भारतीय नागरिक नौलो वर्ण र धर्मको रुपमा देखा परे । अर्काे इसाई धर्म प्रचारक मिसनको माध्यमबाट जताततै क्रिश्चियन धर्मावलम्बीको संख्या बढ्न थाल्यो ।
त्यसै समय नेपाल १०४ वर्षको क्रुर जहानीया राणा शासनकालमा कामको खोजीमा नेपालबाट भारतीय उप–महादिपमा निरन्तर रुपमा नेपालीहरु जान थाले । त्यहाँको प्रभावमा गएका मध्ये केही धर्म परिवर्तन गर्न विवस भए र नौलो धर्म अनुसारको रीतिरिवाज पालन गर्न थाले ।
अतः परापूर्वकाल देखि मानिआएको आर्य संस्कृति अन्तर्गतको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु नयाँ वातावरणमा प्र्रभावित भएर केही प्रवासी नेपाली जाती विदेशी इसाई धर्मको अनुयाई बन्नपुगे ।
यसप्रकार नेपाली जाती विदेशमा प्रवासी जीवनयापनमा परम्परागत मानिआएको धर्म त्यागी नयाँ धर्म अनुसरण गर्न थाले । पञ्चायतीकालमा स्वर्गीय राजा महेन्द्रबाट प्रवासी नेपालीलाई स्वदेश फर्कने आह्वानलाई विशेष जोड दिईयो । फलस्वरुप धेरै प्रवासी नेपाली विदेशी मुलुक भारत, बर्मा तथा अन्यत्रबाट नेपालमातृ भूमि फर्कन थाले । जो केही प्रतिशत परिवर्तन इसाई धर्मालम्बीका थिए ।
यस प्रकार नेपालमा नयाँ सांस्कृतिक रुपमा इसाई धर्म नेपालमा फैलिन थाल्यो यद्यपि संविधानमा कसैले कसैको धर्म परिवर्तन गराउन पाउने नभएता पनि खुला रुपमा क्रिश्चियन धर्मको प्रचार प्रसार भईरहेको हुदाँ धेरै नेपालीहरु धर्म परिवर्तन गरिरहेका छन् । नेपाल जस्तो अतिकमविकसित (आर्थिक दृष्टिकोणले) दोस्रो सबै भन्दा गरीब राष्ट्रको श्रेणीमा पुग्नगएको छ ।
जहाँ लगभग २३.८ प्रतिशत जनता गरीबीको रेखा मुनि पिल्सिएका छन् । नग्न गरीबीको कारण र केही हदसम्म नेपाली हिन्दु समाज छुवाछुत जाती प्रथाको कारण सामाजिक प्रतिष्ठाको कारण धर्म परिवर्तन गराउन सफलभएको पाइन्छ । भनिन्छ, आजभोलि हिन्दु तथा बौद्ध धर्मालम्बी पछि तेस्रो स्थानमा क्रिश्चियन धर्मावलम्बीहरु नेपालमा भएको दावी गर्दछन् ।
प्रजातान्त्रिक आन्दोलनको सफलता पछि नेपालमा क्रिश्चियन धर्मालम्बीहरुको सम्मेलन हुनाका साथै तत्कालीनप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सिफारिशमा धर्म परिवर्तन गराएको अभियोगमा जेल परेका क्रिश्चियन धर्म प्रचारकहरु सबैलाई राजाबाट माफी भएको थियो र उनीहरु सबै जेल मुक्त भएका थिए तर तत्कालीन नेपाल हिन्दु अधिराज्य भएता पनि यहाँ मस्जिद काठमाडौं तथा अन्य मुसलमान बसोबास स्थानमा पाइन्छ ।
पञ्चायतकालसम्म धर्म परिवर्तनलाई कानुनले पूर्णतया निषेध गरेको थियो । हिन्दु धर्मबाट अन्य धर्ममा परिवर्तन गर्न मात्र होइन अन्य धर्मबाट हिन्दु धर्ममा परिवर्तन गर्ने प्रावधानपनि नेपालमा थिएन । यसैकारणबाट पनि हुन सक्छ नेपालमा हाल क्रिश्चियन धर्मको प्रचार विस्तार भएको होला ।
नेपालको विशेषताहिन्दुहरुको बाहुल्यता नेपालमा सदा कालदेखि भई आएको भएता पनि अल्प संख्यक धर्मावलम्बीहरु मथि कुनै प्रकारको बन्देज भएको पाईदैन । यहाँ धार्मिक संस्कारको पालना गर्दा सामाजिक मर्यादा तथा एक सम्प्रदायले अर्काे सम्प्रदायको भावनालाई कदर परापूर्वकालदेखि गरी आएको पाइन्छ । अर्थात् धामिक सहिष्णुता यहाँ रहीआएको छ ।
तर विगत ०४६ सालयता ३० वर्षको पञ्चायतीशासनको अन्त्यपछि देशमा छाएको प्रजातान्त्रिक परिपाटीमा भने धार्मिक विवाद खडा भएको पाइन थालेको र हालको गणतान्त्रिक देशको बदलिदो परिप्रेक्षमा धर्मको विवाद भइरहँदा देशको विकास गतिमा अवरोध पैदा हुन जान्छ ।
नेपालमा मुस्लिम अल्पसंख्यक भएर पनि वर्षेनी साउदीअरबमा हजयात्रामा सरकारी सहुलियतमा तीर्थयात्रीलाई पठाईरहेको सर्बविदितै छ । त्यस्तै भगवान बुद्ध जन्मेको स्थान लुम्बिनिमा अन्र्तराष्ट्रिय सहयोग उक्त क्षेत्रको विकासको लागि सहयोग जुटाउने क्रममा सरकारी नीति अन्तर्गत भई आएकै छ । यहाँ हिजो हिन्दु राज्य भनिएको भएता पनि चलिआएको अन्य धार्मिक रीतिरीवाजमा भेदभावभएको पाइदैन । एशिया तथा अफ्रिकाको २२÷२३ वटा अरवी मुलुकहरु इश्लामी धर्मलाई प्रमुख मान्यता छ । ती मुलुकहरुमा इसाई धर्म प्रचार गर्नेलाई कडा निगरानी राखिन्छ ।
पश्चिमी यूरोपेली मुलुकहरुमा क्रिश्चियन धर्मावलम्बीहरु कयाथोलिक र प्रोटेस्टेन्टमा विभाजित छन् । बेलायतमा यूरोपको सभ्यता र विकासको क्रममा अग्रपन्थीमा रहेको मुलुकमा आजसम्म राज संस्था क्याथोलिक धर्मावलम्बीका अनुयायी मात्र हुने परम्परा छ । संसारमा क्रिश्चियन धर्मको बाहुल्य मत फैलाउन यूरोपको भ्याटिकन शहरमा क्रिश्चियन धर्मको गुरु पोपको धार्मिक निर्देश यूरोप भरी सबै क्रिश्चियन मूलुकले पालन गर्दछ ।
आज संसारका विभिन्न रुपमा धार्मिक मिसनहरु काम गरिरहेका छन् । आ–आफ्नो धर्म फैलाउन हरेक सम्प्रदायहरु सक्रिय छन् । मध्ययुगमा युरोपमा धर्मलाई विवादमा ल्याएर क्रिश्यिचन सम्प्रदायभित्रै ठूलो रक्तपात भएको इतिहास साक्षी छ । लेवनमा क्रिश्चियन र इश्लामी धर्मावलम्बी विच सघर्ष चलिरहेकै छ । धार्मिक सहिष्णुताको अभावमा त्यहाँ गृहयुद्ध जस्तै छ ।
इजरायलमा अल्पसंख्यक प्यालेस्टीनीहरु यहुदिहरुसँग सघर्ष गरिरहेकै छन् । दुवैमा धर्मको विवाद नै प्रमुखकारण हो । छिमेकी राष्ट्र भारतमा स्वतन्त्र भएदेखि नै धर्म निरपेक्ष राष्ट्र घोषित भएपनि हिन्दु र मुसलमानबीच परस्परमा यदाकदा हिंसा भईरहेकै छ । शिख र हिन्दुमा पनि त्यस्तै छ । धर्म  निरपेक्ष घोषित राष्ट्र हँुदैमा धार्मिक समस्या टुङ्गिदो रहेनछ ।
जुन छिमेकी राष्ट्र भारत ज्वलन्त उदाहरण छ । संसारको विभिन्न ठाउँमा धार्मिक सहिष्णुताको अभाव छ । केहि वर्ष अघिमात्र अफ्रिकाको धर्मको आधारमा दक्षिण र उत्तरी सुडान एउटै राष्ट्र दुई अलग राष्ट्र हुन गयो । एसियाको फिलिपिन्समा इसाई र मुसलमान समुदायबीच बेला–बेलामा संघर्ष भईरहेको पाइन्छ भने पूर्वी टिमोर इसाई धर्मकै आधारमा केहीवर्ष पहिले छुट्टियो ।
तर नेपालमा सदा सहिष्णुता रहीआएको हामी पाउँछौ । नेपालमा विभिन्न जाती, वर्ण, धर्मका मानिसहरुको बसोबास भएको राज्य जहाँ धार्मिक सहिष्णुता छ र राष्ट्रिय एकताको लागि यो आवश्यक तत्व हो । परिवर्तित राजनैतिक परिवेशमा नेपाल धर्म निरपेक्ष घोषित भएतापनि समग्रमा धार्मिक स्वतन्त्रको नाउमा धर्म निरपेक्ष आजको आवश्वकता नहुन सक्छ । आवश्यकता छ प्रजातान्त्रिक परीपाठीको आधारमा देशको आर्थिक सामाजिक पछौटेपनाबाट विकासको गतिमा लैजान ।
नेपाली जनता आ–आफ्नो सनातन धर्ममा विश्वास राख्दछन् । सनातनकालदेखि चलिआएको धर्मलाई कसैले पनि बाधा पुर्याउनु हुँदैन । आर्थिक प्रलोभन देखाएर कुनै पनि सम्प्रदायले धर्म परिवर्तन गराउने कुचेष्टा गराउन के ठिक हो ?
धर्म भनेको विश्वासको कुरा हो तर करकाप बल प्रलोभनले धर्म परिवर्तन गराउनु कसैको पनि कर्तव्य होईन । नयाँ संविधानमा धर्म परिवर्तन प्रलोभनबाट गराउन खोज्ने प्रति उचित सजायको प्रावधान राखेमा ठिक होला कि ? धर्म सम्बन्धि हामी कसैको (बाह्य या आन्तरिक) दबावमा किन पर्ने ?

  •  
  •  
  •