धरान, ५ बैशाख (ओएनएस) : धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई कुटपिट गरेको आरोपमा ८ जना महिलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा धरान ७ बस्ने रेनु तामाङ, प्रेमा तामाङ, रिना तामाङ, रेबिका राई, सिन्धु सुब्बा, शान्ता आले मगर, विन्दु लिम्बु र सुस्मा लिम्बु छन् । उनीहरुमाथि कार्यालय तोडफोड गरेको आरोप पनि लागेको छ ।
धरान–१३ शिवधाराका तीर्थ राना मगरसँग श्रीमतीको नाता प्रमाणित गरिदिन रेनु तामाङले १३ नम्बर वडा कार्यालयबाट सिफारिस लिएर आएको बेला उनीहरुले खतिवडामाथि हातपात गर्दै कार्यालय तोडफोड गरेको आरोप छ । वैवाहिक सम्बन्ध गाँसिएको कुनै पनि वैधानिक कागज प्रमाणपत्र र नागरिकताबिना उनीहरुले नाता प्रमाणित गर्न दबाब दिएको खतिवडा पक्षको भनाइ छ ।
कुटपिट गर्नेविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।