सांसद गुरुङको प्रश्नः ‘सरकार दक्षिणी प्रभुको अगाडि लम्पसार परेको हो ?’

152
  •  
  •  
  •  

dhanraj gurungकाठमाडौं, १२ माघ (ओएनएस) :नेपाली कांग्रेसका सांसद धनराज गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयर मार्सल राख्न दिन भारतसँग गरिएको भनिएको सम्झौताबारे सरकारको धारणा माग गरेका छन् ।

बुधबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले एयर मार्सल राख्न दिने सम्झौता पर्यटन तथा नागरिक उड्यनका उच्च अधिकारीलाई कसले दियो ? भन्दै प्रश्न गरे ।

नेपाल र भारतका पर्यटन तथा नागरिक उड्यनका उच्च अधिकारीबीच हवाई ट्राफिक र नयाँ रुटका विषयमा छलफल गर्न १ महिना अघि महिना दिल्लीमा बसेको बैठकमा एयर मार्सल राख्ने पनि सम्झौता भएको सांसद गुरुङले दाबी गरे ।

‘बैठकमा सहभागि अधिकारीलाई सुरक्षासम्बन्धी सम्झौता गर्ने अधिकार कसले दियो ?, सरकारले ती अधिकारीसँग स्पष्टिकरण नसोध्नुको कारण के हो ?,’ सांसद गुरुङले भने, ‘के नेपालका सुरक्षा निकायहरु निकम्म बनेका हुन् ? वा नेपाल सरकार दक्षिणी प्रभुको अगाडि लम्पसार परेको हो ?’

सरकार लम्पसार परेपनि संसद लम्पसार पर्न नसक्ने र पर्न नहुँने चर्चा गर्दै गुरुङले कुनै पनि बहानामा विदेशी सैन्य बुटले नेपाल आमाको छातिमाथि कुल्चिने कुरालाई सहन नसकिने बताए ।

पछिल्लो समयमा मुलुकमा विखण्डिकरणको हावा चलाउन थालिएको उनले बताए ।‘राष्ट्रियतामाथि धावा बोल्न थालिएको छ । फ्रि मधेसको नाममा सिके रावतहरू हिँडिरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ,’ उनले भने ।

‘सिके रावतहरुलाई जनताले तह लगाउछन् भनेर प्रधानमन्त्री भन्दै हिँडछन् । त्यसो भए सरकार के हेरेर बसेको । लम्पसार पर्न थालेको हो ?’ उनले प्रश्न गरे ।

राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्ष, धर्म, जात र मधेसी–पहाडी तथा वर्ण नहुने उल्लेख गर्र्दै गुरुङले राष्ट्रियताको सवालमा सबै एक ठाउँमा उभिनु पर्ने औंल्याए ।


  •  
  •  
  •