जब वर्षा हुन्छ, अनि सुरु हुन्छ धनेपुबासीको दशा

191
  •  
  •  
  •  

ओखलढुंगा, ५ चैत (ओएनएस) :  वर्षातको समयमा भने उनीहरु सुत्न सक्दैनन् । रातभर घरछेउमै पहिरो बगिरहँदा धेरै जनाको करेसाबारीमात्र होइन, घरको चौघेरा समेत बगाइसकेको छ । पहिरोको फेदमा लिपेखोला बौलाहा खहरेझै चैत बैशाखमा पनि उर्लिन्छ र धेरैको ज्यान लिन्छ ।

त्यहीँ बौलाहा लिपे खोलाको कटानले बगाएको आफ्नै घरको चौघेरा र करेसाबारीको ढुंगा माटोबाट हिउँदभर छानेको बालुवालाई उनीहरु कौडीको भाउमा बेच्छन् र बिहान बेलुकी छाक टार्छन् । जब ओछ्यानमा पुग्छन्, अनि उही त्रास दोहोरिन्छ ‘उज्यालो हुन पाउँछ कि पाउँदैन ।’

यो काल्पनिक कथा नभएर सदरमुकाम ओखलढुंगासँग जोडिएको बरुणेश्वर गाविसको वडा नं. ९ स्थित धनेपु र डाँडा गाउँका शेर्पा समुदायको वास्तवीक भोगाइ हो । बरुणेश्वरको उक्त धनेपु र डाँडागाउँका ५९ घर परिवार एकातीर लिपे र अर्कातिर पोक्तिङ खोलाको कटानले डरलाग्दो गल्छी बनेपछि वर्षौदेखि पहिरोको चपेटामा छन् । आर्थिक अवस्था कमजोर शेर्पा जातिको बसोबास रहेको सो गाउँका सबै सर्वसाधारण ६ महिना बारीको उत्पादन र ६ महिना मजदुरी गरेर जीवन धान्दै आएका छन् ।

लिपे खोलासँग उनीहरुको अनौठो सम्बन्ध छ । अन्यत्र गएर मजदुरी गर्न न उनीहरुसँग राम्रो सीप नै छ, न कसैले काम नै दिन्छन् । त्यही भएर लिपेको पहिरोले बगाएको आफ्नै घरको चौघेरा र करेसाबारीको माटो छानेर बेच्नु उनीहरुको दैनिकी हो । ‘आफ्नै घरको जग बेचेर पेट पाल्नु यहाँका स्थानीयको बाध्यता हो’ रोजगारीका लागि खाडी मुलुक पुगेका धनेपुका युवा गोम्बु शेर्पाले भने, ‘धेरै युवाहरु आजकल साहुको ऋण लिएर विदेश हानिन्छन् । ’

Dhanepu Okhaldunga (3)
लिपे खोलामा बालुवा छान्दै फुर्वा शेर्पा ।

खेति गर्न प्रशस्त जग्गाजमिन नभएपछि रोजगारीको गन्तव्य लिपे खोला नै भएको धनेपुका ३४ वर्षीय युवा फुर्वा शेर्पाले बताए । उनी जस्तै हिउँदमा २०÷२५ जना र वर्षादमा ४० परिवारसम्म लिपे खोलामा बालुवा छान्न आउँछन् । चार–पाँच दिन छानेपछि एक ट्रयाक्टर बनाएर स्थानीय यर्थाथ युवा क्लबलाई बेचेर परिवारको खर्च चलाउँछन् । ‘एक ट्रयाक्टरको दुई हजार सात सयसम्म पाइन्छ’ शेर्पाले भने । ‘वर्षातमा कहिले बाढी आएर पाँच सात दिनको श्रम मिनेट भरमै एक छाक बनाउँछ’ शेर्पाले दुख सम्झे । खहरेको बाढीले घरबारी मात्र होइन, कहिले हेर्दाहेर्दै आफन्तलाई पनि बगाएका पीडा उनीसँग छ ।

युवा र पुरुषहरु श्रम गर्न गाउँ छोडेपछि परिवार धान्ने दायीत्व महिलाको काँधमा आएको छ । त्यसैले महिलाहरु दिनभर खोलाको किनारमा भेछिन्छन् । ३४ वर्षीया खामु शेर्पाले सात वर्षदेखि बालुवा छानेरै परिवारका ४ जना सदस्यलाई खान मात्र पु¥याएकी छैनन् एक जना छोरालाई सदरमुकामस्थित सोब्रु बोर्डिङ स्कुलमा पढाएकी छन् । प्रत्यक्ष देख्दा लिपे खोला रोजगारीको माध्यम बनेपनि वर्षा शुरु भएपछि वर्षेनी घरखेत बगाउन थाल्छ ।

हेर्दै कहालिलाग्दो पहिरोले गाउँ बगाउनै लागेको देखिन्छ । पहिलो पटक देख्नेले सो क्षेत्रमा मानवबस्ती छ भनेर पत्याउँदैनन् । तर, २०५७ सालमै यो पहिरोले बिस्थापीत २३ परिवारलाई जन्तरखानीको टोड्के नजिकै जिल्ला विकास समिति र परिवर्तनका लागि कार्यरत महिला समुहले २० हजार रुपैयाँ सहयोगमा २३ वटा घर बनाएर पुनःस्थापना गरिएपनि असफल भएको अभियानका सदस्य एमाले नेता नेत्रप्रसाद भट्टईले बताए । घर भएपनि जग्गा–जमिन नभएपछि उनीहरु खोलाको कटानले चिरा–चिरा पारेको पुरानै घर फर्किएर बसेका छन् । वीरेन्द्रबस्ती नामाकरण गरिएको उक्त बस्तीमा अहिले घरका अवशेषमात्र बाँकी छन् ।

Dhanepu Okhaldunga (2)
पुनःबासका लागि बनाइएका जन्तरखानीको वीरेन्द्रवस्तीका घरहरुको अवशेष ।

अहिलेको अनुपातमा पहिरो बढ्ने हो भने कतिबेला गाउँ बग्छ पत्तो छैन । लिपेको कटान नियन्त्रणका लागि स्थानीयस्तरमा पहल हुन सकेको छैन । ‘स्थानीय तहमा नियन्त्रण सम्भव छैन, बरु पुनःबासको व्यवस्था गर्न पहल गर्नुपर्छ ।’ स्थानीय विकास अधिकारी शत्रुघ्नप्रसाद पुडासैनीले भने । पुनःबासले मात्रै नहुने बिगतका अनुभवले देखाएकाले उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने एमाले नेता तथा तत्कालीन पुनःबास उपसमितिका सदस्य नेत्रप्रसाद भट्टराईले बताए । बालुवा झिक्ने काम बन्द गरे पहिरो केही रोकथाम हुुने उनले बताए ।

धनेपु र डाँडा गाउँका शेर्पा समुदायको दैनीक जीविकोपार्जनको बाटो नै लिपेको बगरमा बालुवा छान्ने हो । उनीहरु खानकै लागि आफ्नै घर करेसाको जग खनेर भत्काइरहेका छन् । रोजगारीको विकल्प नहुञ्जेल उनीहरुको दिनचर्या यस्तै रहने स्थानीय कांग्रेस नेता दाहालको भनाई छ । दाहालले ५९ घर परिवारको पुनःबास र रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

पहिरोले कतिबेला आफ्नो परिवार बगाएको खबर सुनिने हो भन्ने त्रासले रातभर निद्रा पर्दैन । हिउँदमा सबैले संकलन गर्ने भएकाले कम हुनेहुँदा रोजगारीको चिन्ताले उत्तिकै सताउँछ । ‘वर्षाद्मा खोलामै बगिन्छ या सुतेको घर नै बग्ने हो भन्ने त्रास हुन्छ’ स्थानीय युवा फुर्वा शेर्पाले भने– ‘जब बर्षा हुन थाल्छ अनि हाम्रो दशा शुरु हुन्छ ।’


  •  
  •  
  •