नौविसेको दुर्घटनामा १७ को मृत्यु, १४ को सनाखत (फोटोसहित)

213
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (ओएनएस) : धादिङको नौविसेमा आज विहान भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । भारतीय तीर्थयात्री बोकेको वीजेएक्स ९९०० भारतीय बस नौबिसेको ओरालोमा दुर्घटनाग्रस्त भएको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले दिएको जानकारी अनुसार घटनास्थलमैं ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ । उनीहरु भारतको गुजरात प्रदेशको सुरेन्द्रनगर जिल्लाबाट पशुपतिनाथको दर्शन गरेर फर्केका यात्रुहरु हुन् ।

मृत्यु हुनेहरुमा गणेशशंकर छतवारा, गणेशशिवा छतवारा, ईश्वरी सामजी छतवारा, ढलपन भाई छतवारा भएको प्रहरीले जनाएको छ । सुरेन्द्रनगर जिल्लाकै दयाराम सामजी छतवारा, गँगाराम लालजी छतवारा, नरसींभाई छतवारा, अलफेस पटेल (गाडीको सहचालक) रहेको पुष्टि भएको प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।

महिलाहरुमा जसुवेन छतवारा, कञ्चनवेन छतवारा, सवितावेन छतवारा, गौरीवेन छतवारा, लिलावेन छतवारा र चम्पावेन छतवाराको सनाखत भएको उनको भनाइ छ । दुर्घटनामा २५ जना घाइते भएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ ।

सशस्त्र प्रहरी गण निलवाराही, कालिञ्चोक गण किर्तिपुर र विपद उद्दार सुरक्षा वेस स्युचाटारबाट विपद व्यबस्थापनमा तालिमप्राप्त टोली उद्दार कार्यका लागि परिचालन भएको थियो ।

दुर्घटनाका घाइतेहरुको काठमाडौंस्थित बयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल, दीर्घायु अस्पताल, मेघा अस्पताल, वीर अस्पताल लगायतमा उपचार भैरहेको छ । दुर्घटनाग्रस्त बस दुई टुक्रा भएको छ । बस विहान सात बजे सडकबाट २ सय मिटर तल खसेको हो ।

तस्विरहरु : सशस्त्र प्रहरी

Dhading Bus 2 Dhading Bus 3 Dhading Bus 4 Dhading Bus 5


  •  
  •  
  •