देवघाटमा आजबाट साउने मेला सुरु

232
  •  
  •  
  •  

चितवन, १ साउन (ओएनएस) । चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ ।

आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको घुइँचो लागेको छ । पूर्व सांसद मैयाँदेवी श्रेष्ठले रुद्रिपाठ गरेर मेलाको सुरुआत गर्नुभएको देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । यो महिनाको साउने सोमबार भने झनै भक्तजनका लागि महत्वपूर्ण हुन्छ । मेला आजबाट सुरु भए पनि मुख्य गरी आउँदो आइतबारदेखि भारतबाटसमेत भक्तजन आउने पौडेलले जानकारी दिए ।

महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाइएको तथा स्नान गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाइएको उहाँले बताउनुभयो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटक आउने गर्दछन् । यस्तै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात बोलवम मेला लाग्ने गर्दछ ।

महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन् ।

देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास छ । मेलामा साउनको हरेक सोमबार निराहार ब्रतबसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।


  •  
  •  
  •