चीनको विकासबाट नेपालले सिक्नु पर्ने पाठ

570
  •  
  •  
  •  

Keshab Badalचीनमा सन् १९४९ मा जनगणतत्त्र स्थापना हुँदा प्रतिव्यक्ति आय २७ अमेरिकी डलर बराबर थियो । सन् १९७८ मा आइपुग्दा एकसय ४७ डलर पुगेकमो थियो भने सन् २००८ मा ३ हजार ३ सय ८१ र सन् २०१३ मा आइपुग्दा ६ हजार ८ सय ७ अमेरिकी डलर (विश्व बैंक) प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन भएको छ । यो प्रगतिका कारण हुन् सशक्त केन्द्रीय सरकार, स्थिर र दुरदर्शी सरकार ।

शान्तिपूर्ण वातावरण, राष्ट्रनिर्माणमा एकतावद्ध भएर लाग्ने प्रण र व्यवहार । विज्ञान र प्रविधि संसारको जहाँसुकैबाट पनि सिक्ने र लागु गर्ने अठोट । कसैको बिरोध गरेर समय खर्चनु भन्दा खोज, अनुसन्धान र वैज्ञानिक प्रयोगबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा दत्तचित्त भएर लाग्ने अठोट नैं यो प्रगतिको कारण हो ।

चीनको प्रगति हुनुको कारण यतिमात्रै छैन । अरु पनि छन् । सन् २००९ को नोभेम्बर २४ बाट भएको १४ दिने भ्रमणका बेला देखेका कुराहरु यहाँहरु समक्ष प्रष्ट पार्ने कोशिस गर्छु । चीनमा आर्थिक विकास तीव्र रुपमा भएको छ । राजश्व पनि प्रशस्त उठ्छ । विशेष गरी ग्वाङदुङ्ग प्रदेशको कुरा गर्दैछु । कर्मचारीहरु आफ्नो तलब बढाउनभन्दा देशको अरु भागको विकास र प्रकोप पीडित क्षेत्रका जनताको सेवामा लगानी बढाउन हाँसीखुसी लागेका थिए । यसकारण राजनीतिक दल र कर्मचारी प्रति नागरिकको विश्वास बढाएको छ । नागरिकको अपार विश्वासले राष्ट्रसेवक कर्मचारीमा पनि नागरिकको सेवा गर्ने भावना बढेको छ ।

पूर्वाधार विकासमा राज्यले प्रशस्त लगानी गरेको छ । लगानीकर्तालाई भरपुर प्रोत्साहन गरेको छ । बन्द, हड्ताल, बिरोध र व्यवधान छैन । ऐन कानुन सबैले पालना गर्छन् । सबैले आ आफ्नो काम तोकिएको समयभन्दा चाँडो र गुणस्तरको गर्छन् । विकासका पक्षमा माहोल बनेको छ । चिनियाँ नागरिक विकसित देशलाई गाली गर्दैनन्, बरु त्योभन्दा विकसित कसरी हुने, कसरी क्षमता हासिल गर्ने भनेर वैज्ञानिक, ईन्जिनियर, अनुसन्धानकर्ता, श्रमिक, कर्मचारी र सम्पूर्ण राजनीतिकर्मीहरु लागिपरेका छन् । उत्पादन बढेपछि मात्रै गरिबी घट्छ भन्ने भावना जनजनमा स्थापित भैसकेको छ । उत्पादन नबढिकन न सामाजिक न्याय हुन्छ न समाजवाद आउँछ ।

ओठे समाजवाद होइन, न्यूनतम आवश्यकता पुरा गरेरमात्र समाजवादमा जान सकिन्छ, सामाजिक न्याय र उत्पादकत्व बृद्धि एक अर्काका पुरक हुन् भन्ने कुरा पार्टीले जनजनमा पुर्याएको छ । विकासका लागि सक्षम जनशक्ति ठूलो श्रोत हो । कहाँ, कुन कार्यका लागि, कहिलेसम्म कस्तो जनशक्ति आवश्यक छ ? त्यस्तो जनशक्ति कसले, कहाँ, कसरी तयार पार्ने भन्ने सन्दर्शमा सिँगै पार्टीसँग योजना र तयारी छ ।

यसका लागि सशक्त भिजनरी, सक्षम र स्थिर सरकार छ । जसका कारण विकासको मुख्य शक्ति जनशक्ति निर्माणमा ध्यान केन्द्रित गरेको छ । अबको दुनियामा नलेज इकोनोमीको महत्व बुझिएन भने हामी कसैसँग प्रतिस्पर्धा गर्न सक्तैनौं भन्ने भावना तलदेखि माथिसम्म छ । यसैले कलिलै उमेरबाट हरेक विद्यार्थीमा मैंले योग्यता प्रदर्शन गरिन भने म पछि पर्छु भन्ने भावना छ । प्रत्येकमा दशेभक्तिपूर्ण भावना जागृत गरेको छ ।

चिनियाँहरु भन्छन्, ‘हामी कसैको बिरोध गरेर समय खेर फाल्न चाहन्नौं । इतिहासको कुनै कालखण्डमा कतिपय देशले हमला गरे, अफिमको प्रचार गराएर चिनियाँ जनतालाई अफिमको नसामा लठ्याएर राख्ने अनेक प्रयत्न भए । देशका कतिपय भागमा फकाएर, धम्काएर, शैन्यबल प्रयोग गरेर देशलाई क्षतविक्षत बनाउने प्रयास भए तर त्यसो गर्नेहरुसँग बदलाको भावना लिएर समय खर्च गर्न हामी कहिल्यै लागेनौं । बरु ती देशभन्दा बढी उन्नत र सम्बृद्ध कसरी हुने भनेर हामी निरन्तर लागि रह्यौं ।’

चिनियाँ नागरिक, राष्ट्रसेवक कर्मचारी तथा राजनीतिज्ञ हामी जापान, अमेरिका, यूरोपेली युनियनका देशहरुभन्दा समृद्ध कसरी हुने, विज्ञान र प्रविधिमा, विकास र निर्माणमा, शिक्षा र साहित्यमा, कला र संस्कृतिमा, हरक्षेत्रमा कसरी उन्नत हुन सकिन्छ भनेर अनुसन्धान गरिरहन्छन् । उनीहरु आफ्नो देशका लागि आवश्यक पर्ने सक्षम जनशक्ति निर्माणमा, राजनीतिक नेतृत्व निर्माण, विज्ञान तथा प्रविधि क्षे.त्रमा, कृषि तथा पशुपालन, खाद्य सुरक्षा, राष्ट्रिय सुरक्षाजस्ता क्षेत्रमा के योगदान गर्न सकिन्छ भनेर चिन्तन गरिरहेका छन् । चीनसहित सिङ्गो विश्वभरका नागरिकको हितका लागि कसरी योगदान गर्न सकिन्छ भन्नेमा उनीहरुको ध्यान केन्द्रित भएको हामीले पायौं ।

चीनबाट हामीले सिक्नैपर्ने पाठहरु, ‘जनता समुन्द्र हुन्, पार्टी जहाज हो । जहाजमा प्वाल पर्यो भने डुब्छ । तसर्थ जहाजलाई बलियो बनाउनुपर्छ । राम्ररी जहाज चलाएमा मात्रै लक्ष्यमा पुग्न सकिन्छ । प्रत्येक कार्य, कार्यनीति, कार्यक्रम र योजना जनमुखी, विकासमुखी र ठोस परिस्थितिको ठोस विश्लेषण गरेर आफ्नै स्थान र समाजको विशेषता अनुसार काम गर्ने, अरुको नक्कल नगर्ने गरेमा सफल भइन्छ ।’ चिनियाँ भन्छन् ‘रुसको नक्कल गर्न खोज्दा कहिल्यै सफलता मिलेन । उनीहरुको सुझाव छ, नेपालले पनि चीनको अनुभव सिक्न सक्छ तर हुबहु नक्कल गरेर होइन । बरु नेपालको स्थान विशेषको स्थिति विशेषको कार्यक्रमलाई अगाडी बढाएमा सफल हुन सक्छ ।’

जनता जनताबीच झगडा होइन, एकता, समझदारी र साझा दृष्टिकोण निर्माण गर्न लागि पर्नुपर्छ । सबै जात, भाषा, धर्म, क्षेत्रका जनताबीचको एकता नैं विकासको जग हो । राष्ट्र निर्माणमा मेरो र मेरो पार्टीको योगदान अरुको भन्दा र अन्य पार्टीको भन्दा कसरी बढी राम्रो बनाउने भनेर सोचेमा अवश्य सफल भइन्छ । कसको कति कमजोरी थियो भनेर खोतल्नुभन्दा कसको कति अनुकरणिय योगदान थियो भनेर हेर्ने बानी बसालेमा दलहरु पनि सहमतिमा पुग्न सक्छन् । नेपालको विकासका लागि भारत, चीन र नेपाल परस्परमा किलेर काम गर्नु पर्छ भन्ने धारणा चिनियाँ नेता तथा नागरिकको छ ।

उनीहरु भन्छन्, ‘नेपालमा विद्युत छ । भारतको विकासका लागि विद्युत आवश्यक छ । यसका लागि मिलेर काम गर्दा सबैको हित हुन्छ भन्ने हामी ठान्छौं । ल्हासाको रेल नेपालको सीमासम्म लैजाँदा न नेपाललाई समस्या पर्छ न अरु देशलाई यसले उल्टै विकासको ढोका खुल्छ । यातायातको विकास, रेलवेको विकासले सबै छिमेकी देशहरुसित मित्रता बढाउँछ । व्यापार बढाउँछ र सम्बृद्धि बढाउँछ ।’

नेपालमा कस्तो किसिमको संघीयता ठिक हुन्छ भनेर चिनियाँ राजनीतिक दल, नेता कार्यकर्ता तथा नागरिकबाट दबाब नआउने मैंले पाएको छु । हाम्रो भ्रमणका क्रममा उनीहरुले भनेका थिए, ‘संघीयतामा जाने निर्णय गर्नुभएको छ यो तपाइृहरुको कुरा । तर नेपाली जनताबीचको एकता, नेपालमा स्थिरता र विकास होस् भन्ने हाम्रो चाहना हो । स्थिरता नभइकन र केन्द्र बलियो नभइकन विकास हुँदैन । शान्ति, स्थिरता र विकास अभिन्न विषय हो ।’

बडालको सन् २०१० मा प्रकासित पुस्तक चीनको अर्थ राजनीति र सहकारी बाट ।


  •  
  •  
  •