‘समयमै सडक नबनाउने ठेकेदारलाई कालोसूचीमा राखेर कारवाही गर’

199
  •  
  •  
  •  

काठमाडौं, ३० चैत (ओएनएस) : संंसदको विकास समतिले काठमाडौं उपत्यका सडक विस्तार कार्यक्रमअन्तरर्गत सडक विस्तार कार्य थाल्दा सम्बन्धित निकायलाई आपसमा समन्वय गर्न निर्देशन दिएको छ ।

सडकमा आफ्ना संरचना विछाउने निकायहरु काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम तथा सम्बन्धित नगरपालिकाहरु समेतसँग विस्तृत छलफल समन्वय गरी कार्य गर्न समितिले निर्देशन दिएको हो ।

भविष्यमा कुनै निकायले सडक खन्नु पर्दा छोटो समयमै यथास्थितिमा ल्याउने दायित्व सहित व्यवहारिक नीति अपनाई सडक आवागमन सुचारु गराउने व्यवस्था गराउन भौतिकपूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र अन्तर्गतका सडक विस्तार सम्बन्धी कार्यालयहरुलाई समिति निर्देशन दिएको हो ।

विकास समितिमा सोमबार भएको भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख र काठमाडौं उपत्यका डिभिजन सडक कार्यालयका प्रमुखहरुसँग काठमाडौं उपत्यकाभित्र र अन्य सडकविस्तार कार्यक्रम कार्यान्वयनको वर्तमान स्थिति, समस्या र समाधानका सम्बन्धमा छलफल भएको थियो ।

छलफपछि तोकिएको समयावधिभित्र सडक निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसाधीहरुलाई कालो सूचिमा राख्ने तथा भविष्यमा ठेक्का प्राप्त गर्न नसक्ने गरी कार्वाही गर्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

साथै, ठेकेदारले निर्माण सामाग्री अव्यवस्थित रुपमा सडकमा थुपारेर आवागमन महिनौं सम्म अवरुद्ध गर्ने, काम थालनी नगरेर सर्व साधारणलाई अप्ठेरो परेकोले समस्या अविलम्व निराकर गर्न निर्देशन दिएको हो ।


  •  
  •  
  •