देवदह राष्ट्रिय औद्योगिक मेला सुरु

210
  •  
  •  
  •  

रुपन्देही, २८ माघ (ओएनएस) :  रुपन्देहीको देवदहमा प्रथम राष्ट्रिय औद्योगिक ब्यापार मेला,कृषि तथा पर्यटन महोत्सव शुक्रबारदेखि शुरु भएको छ ।

उद्योग ब्यापार संगठन देवदह शाखा र उद्योग ब्यापार संगठन रुपन्देहीले संयुक्तरुपमा आयोजना गरेको महोत्सवको नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले उद्घाटन गरेका हुन् ।  मुख्य सचिव पौडेलले राजनीतिक अस्थिरताका कारण नेपालमा औद्योगिक र आर्थिक विकासका मुद्दाले प्राथमिकता पाउन नसकेको बताए ।

‘देशको समृद्धिका लागि अरु सबै गौण विषय हुन्, सबै भन्दा मुख्य कुरा सबैमा राष्ट्रिय भावनाको जागरण पैदा हुनुपर्छ’–पौडेलले भने–‘देश विकास गर्ने आफैले हो, विदेशीले गरिदेलान् भनेर आश गर्नु दास मानसिकता हो,त्यसले दीगो विकास हुनसक्दैन ।’

उनले विश्वशान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्धका जीवनीसंग सम्बन्धित देवदह,रामग्राम र तिलौराकोट लगायतका स्थानलाई जोडेर बुद्ध सर्किट वा ग्रेटर (वृहत्तर) लुम्बिनीको अवधारणा अनुसार पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए ।  देवदह क्षेत्र बुद्ध मावली स्थलसंगै पुरातात्विक महत्वको क्षेत्र भएकाले यसको अझै उत्खनन् आवश्यक रहेको औंल्याउंदै उनले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

महोत्सव उद्घाटनका अवसरमा आयोजक उद्योग ब्यापार संगठन देवदहका अध्यक्ष गोबिन्द ठडराईले देवदह क्षेत्र कृषि,दुध उत्पादन,अर्गानिक तरकारी र बंगुर पालनमा रुपन्देहीकै अग्रणी क्षेत्र भएकाले स्थानीय किसान र उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणसंगै किसानलाई प्रोत्साहन र देवदहलाई राष्ट्रियस्तरमा पहिचान गराउन ब्यापार मेला आयोजना गरिएको बताए ।

महोत्सवमा देवदह क्षेत्रका पर्यटकीय तथा धार्मिक स्थलहरु  पाकरीबृक्ष, माथागढी किल्ला, भवानीपुर,बैरीमाई, कन्यामाई, खयरडांडा, दह र अर्गानिक तरकारीका लागि प्रसिद्ध शरनटाडी गरी सात स्थानको भ्रमणका लागि टुर प्याकेज कार्यक्रमलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएका छन् ।

देवदह नगरपालिकाको वडा नं ६ पानबारीमा १० दिनसम्म सञ्चालन हुने  महोत्सवमा औद्योगिक प्रतिष्ठान,कृषिजन्य,हस्तकला,घरेलु तथा कुटिर उद्योग,होटल तथा रेष्टुरेन्ट र पर्यटन सम्बन्धी २ सय स्टल  रहेका छन् ।

महोत्सवमा लोक संस्कृतिको जगेर्नाका लागि लोक दोहोरी,देवदह महोत्सव गायन आइडल ,देवदह डान्सिङ आइडल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितासंगै चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति,बाल उद्यान आदि पनि रहने आकर्षणको रुपमा रहने आयोजकले जनाए ।

देवदह नगरपालिका र जिल्ला विकास समिति रुपन्देही महोत्सवको सहआयोजक रहेका छन् ।  महोत्सवको  टिकट विक्रिको आम्दानीबाट ५ प्रतिशत रकम ऐतिहासिक पाकरी बृक्ष संरक्षणमा खर्च गरिने छ ।


  •  
  •  
  •