चर्चित कलाकारले तताए देवदह महोत्सव

182
  •  
  •  
  •  

रुपन्देही , ५ फागुन (ओएनएस) : रुपन्देहीको देवदह–६ खैरेनीमा सञ्चालित प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवलाई ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले बेग्लै रौनक थपेको छ ।

टेलिभिजनका पर्दामा मात्रै देखिने लोक दोहोरी, आधुनिक, पप र हास्य विधाका चर्चित कलाकारले पहिलो पटक देवदहमा आयोजित महोत्सवलाई आफ्नो प्रस्तुतिमार्फत संगीतमय बनाउदै दर्शकलाई तताइरहेका छन् । आफ्नै थलोमा आफुलाई मन पर्ने कलाकारको प्रस्तुति प्रत्यक्ष हेर्न र रमाउन पाइने भएकाले संगीतप्रेमी दर्शकहरुको महोत्सवमा भीड लागेको छ । विशेषगरी लोक दोहोरी कलाकारको प्रस्तुति चलिरहदा दर्शक दिर्घामा नाच्नेहरुको होडबाजी नै चल्ने गरेको छ ।

 महोत्सवमा मंगलबार लोक दोहोरी गायक चन्द्र शर्मा, राधिका हमाल, वैकुण्ठ महत तथा लोक पप गायक तीलकबम मल्लले आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई भरपुर मनोरन्जन दिलाउंदै छमछमी नचाए ।

चन्द्र शर्माले ‘सलल बग्यो गण्डकी’, ‘चरी भए आउंथे उडेर’ र ‘घुम्दै आयो’ गाए भने राधिकाले रोइला भाकामार्फत युवाहरुलाई तताइन् । तिलकबमले ‘हातमा रुमाल’, ‘मुटु छुने लुम्लेको हावाले’, ‘ट्याक्सी गुड्यो सरर’ आदि गीतमार्फत दर्शकलाई उफारे ।

मंगलबार नै खेम थापा, हरिनारायण चौधरी, हरी विक र हास्यकलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा) को  प्रस्तुतिले पनि दर्शकलाई मनोरन्जन दिलाएको छ ।

महोत्सवमा पाचौं दिनसम्म ३० हजार भन्दा बढीले दर्शकले महोत्सव अवलोकन गरेका र करिव ४० लाखको आर्थिक कारोवार भएको महोत्सव संयोजक गोबिन्द ठडराईले जानकारी दिए ।

महोत्सवमा थारु, मगर, गुरुङ जातिका खानाका परिकार, थारु संग्रहालय ,चिडियाखाना पनि दर्शकको आकर्षण बनेका प्रचार प्रसार संयोज कयम रानाले जानकारी दिए ।

महोत्सवको अवसरमा बुधबार  देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको भ्रमण गराउने आयोजकले जनाएका छन् । देवदह नगरपालिका र जिल्ला विकास समिति रुपन्देही सह–आयोजक रहेको १० दिने महोत्सव १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेकोछ ।


  •  
  •  
  •