प्रश्नावली समितिलाई सच्याउन, उल्टाउन र खारेज गर्नै सकिँदैन : देउवा

433
  •  
  •  
  •  

Ser Deuwaकाठमाडौं, १६ माघ (ओएनएस)  :  नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाबाट पारित भएको प्रश्नावली प्रस्ताव समितिलाई कुनै पनि हालतमा खारेज गर्न नसकिने प्रष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै नेता देउवाले भने, ‘संविधानसभाबाट पारित भएको प्रस्तावलाई उल्टाउन, सच्याउन, खारेज गर्नै मिल्दैन, एमाओवादीसहितका विपक्षी मोर्चा त्यही प्रश्नावली समितिमा आएर सहमति खोज्नुपर्छ, त्यसलाई खारेज गर्ने पक्षमा हामी छैनौं ।’

सभाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले विधि, प्रक्रिया र संविधानसभाको नियामावली अनुसार नै प्रश्नावली समितिको प्रस्ताव गर्नुभएको भन्दै त्यसलाई फेरि उल्टाउन भनेको संविधानसभाको गरिमामाथि अपमान गर्नु हो भन्दै देउवाले अझैपनि दलहरुबीच सहमति, सहकार्य र एकताको सम्भावना रहेकोले तत्काल विपक्षी मोर्चालाई आन्दोलन छाडेर वार्ताको टेबलमा बसेर सहमति खोज्न आग्रह गरेका छन् ।

उनले भने–‘प्रश्नावली समितिले काम गर्दै गर्छ, दलहरु वार्तामा बसौं, सहमतिकै साथ संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा म दृढ छु, तर विपक्षीमोर्चाले वार्तामा बस्नु अगाडि कुनै सर्त राख्न ुहुँदैन । वार्ताको टेबलमा बसिसकेपछि मात्रै एजेण्डा तय गर्ने हो । ’

आज विहान प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै गएर भेटेको कुरालाई लिएर काँग्रेस विपक्षीसँग झुकेको हो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता देउवाले भने–‘काँग्रेस वार्तामा विश्वास गर्ने पार्टी हो, त्यसैले प्रधानमन्त्रीले पार्टी सभापतिको नाताले एमाओवादी नेतृत्वसँग वार्ताको पहल गर्नुभएको छ त्यसलाई म सकारात्मक रुपमा लिन्छु, उहाँको पहलकदमीको म समर्थन गर्छु ।’

नेता देउवाले विपक्षी मोर्चाले संविधान सभा भित्र आक्रमण गरेको दिनदेखि नै उनीहरुको व्यवहार जनताले मूल्यांकन गरिसकेको भन्दै उनीहरुले आन्दोलन गर्छु भन्नु पनि हाँस्यस्पद भएकाले संविधानभित्रै बसेर वार्ता गर्नुको विकल्प नभएको बताए ।

यद्धपी नेता देउवाले भने अहिलेसम्म विपक्षी मोर्चाका कुनै नेताहरुसँग आफूले वार्ता नगरेको पनि बताए । उनले भने–‘अहिले प्रधानमन्त्रीले नै वार्ता गरि रहनु भएको छ, परि आयो भने म पनि विपक्षी मोर्चाका सबै शीर्ष नेताहरुसँग वार्ता नगर्न तयार छु ।’

 उनले यति नै समयभित्र संविधान आउँछ भनेर आफूले ठ्याक्कै भन्न नसक्ने भन्दै भने–‘ म बाहुनको छोरो पनि होईन र ज्योतिषी पनि होईन, तर यति कुरा हो संविधान अब छिट्टै आउँछ । पहिला पनि मैले मिति नतोकौं भनेको थिएँ, अहिले पनि हामीले तिथि, मिति तोकेर संविधान बनाउनतिर लाग्यौं भने झन संविधान नआउने खतरा बढ्छ, त्यसैले अब सहमतिमै संविधान ल्याउनको लागि नेपाली काँग्रेस तयार छ, अझै पनि विपक्षी मोर्चालाई वार्ताको टेबलमाआएर लोकतान्त्रिक संविधान लेखन प्रक्रियामा सहकार्य गर्न आग्रह गर्दछु । ’

सरकार परिवर्तनको वारेमा उनले तत्काल सरकार परिवर्तन नहुने जिकिर गरे । उनले भने–‘अहिले सरकार परिवर्तन हाम्रो एजेण्डा होईन, यतिवेला हामीले सम्पूर्ण ध्यान संविधान लेखन प्रक्रियामा नै केन्द्रीत गरेका छौं, सरकारको नेतृत्व गर्नु भएको सुशीलजीले अहिले राम्रै गरिरहेको छ, हाम्रो विचमा एकता छ ।’


  •  
  •  
  •