काठमाडौँ, २३ फागुन(ओएनएस) : गएको महाधिवशेनमा भन्दा शेरबहादुर देउवालाई केही सहज भएको छ, यो महाधिवेशनमा । किनभने, उनका प्रतिस्पर्धीमध्ये एकजना समकालीन छन् भने अर्का कनिष्ठ । आफूभन्दा बलिया उम्मेदवार नहुनु पनि देउवाका लागि अर्को सहज विषय हो । तुलनात्मक रुपमा देउवाले यसपालि देशभरको मत प्रभावित बनाएका छन् । पहिला सुदूरपश्चिम र कोइरालाविरोधी मत मात्र उनको पक्षमा हुन्थ्यो भने अहिले देशैभरि उनका पक्षमा थोरबहुत मत/जनमत रहेको छ । संस्थापन पक्षबाट दुई उम्मेदवार मैदानमा आउनु र संस्थापनका धेरै प्रभावशाली नेताहरूबीच कचिंगल पैदा हुनुको लाभ पनि देउवालाई पुग्न सक्छ । यस हिसाबले उनी पहिलो चरणको मतदानमा पहिलो हुने करिब निश्चित छ ।
समस्या के छ भने तीन उम्मेदवार मैदानमा भएकाले देउवा पहिलो हुँदैमा जितिहाल्ने सम्भावना हुँदैन । ५१ प्रतिशत मत उनले ल्याउँछन् कि ल्याउँदैनन् भन्ने नै अहिले महाधिवेशनस्थलको प्रमुख जिज्ञासा भएको छ । देउवाका पक्षमा करिब १ हजार ४ सय मत जुटिसकेको भन्दै उनीपक्षधर केही नेताहरू शनिबार अबेर रातिसम्म अरु डेढ–दुई सय मत कसरी प्रभावित पार्ने भन्ने जोडघटाउमा थिए । यसबाट पनि के बुझिन्छ भने देउवा पक्षधर नेताहरु नै पहिलो चरणको मतदानबाट नतिजा निकाल्ने प्रयासमा त छन् तर विश्वस्त छैनन् ।
देउवाको पक्षमा सुदूरपश्चिममा करिब ८५ प्रतिशत मत आउने आकलन छ । त्यसैगरी देउवाको भोट पकेट यसपालि २ नम्बर क्षेत्र देखिएको छ, जहाँ मधेसका आठ जिल्ला रहेका छन् । ती जिल्लाबाट ५५ देखि ६० प्रतिशत मत देउवा पक्षधरले आफ्नो पोल्टामा आउने अनुमान गरेको छ । महाधिवेशन सुरु भइसकेपछि धेरै संस्थापन पक्षधर ठूला नेताहरु देउवाको शिविरमा पुगेपछि त्यसको प्रभाव महाधिवेशन प्रतिनिधिसम्म कति पर्छ, त्यो अनुमानकै विषय छ । यद्यपि, त्यसले थोरबहुत प्रभाव अवश्य पार्नेछ । आदिवासी जनजाति समुदायका पाका नेता कुलबहादुर गुरुङ, मुसलमान समुदायका फर्मुल्लाह मन्सुर र रामचन्द्र पौडेलको प्रभाव क्षेत्र मानिने गण्डकी–धौलागिरीका सम्भावनायुक्त नेता अर्जुनप्रसाद जोशीको कित्ता परिवर्तनले देउवा पक्ष बढी नै हौसिएको छ । यति हुँदाहुँदै पनि ५१ प्रतिशत पु¥याउन देउवा पक्षलाई हम्मेहम्मे परेको छ ।
दोस्रो चरणमा मतदान प्रवेश गरेपछि कृष्णप्रसाद सिटौलाको भूमिका निर्णायक बन्न सक्नेछ । कारण, सिटौलालाई पर्ने धेरै भोट संस्थापन पक्षको हुनेछ । यसले स्वभावतः दोस्रो चरणको मतदान संस्थापन पक्षलाई राहतपूर्ण हुनेछ । तर, सिटौलाले भावी राजनीतिक जोडघटाउमा जहाँ आफ्नो स्थान सुरक्षित देख्नेछन्, त्यतापट्टि उभिन सक्नेछन् । यही विन्दुनिर राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूका भूमिका पनि प्रभावी बन्न सक्नेछन् । त्यसैले पौडेल पनि ढुक्क भइहाल्ने स्थिति छैन ।
सम्बन्धित समाचार ः