को हुन् देउवा ?

259
  •  
  •  
  •  

Koirala dead body at stadium (11)काठमाडौं २५ फागुन ।
तीन पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा पार्टी नेतृत्वमा पहिलोपटक पुगेका छन् । कांग्रेसको संस्थापन समूहका नेता रामचन्द्र पौडेललाई हराउँदै देउवा नेतृत्वमा पुगेका छन् ।

२००३ सालमा डडेलधुराको असिग्राममा जन्मेका देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय भए । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए ।

०४८ देखि नै उनी डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहँदै आएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा कोइरालासँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि पराजित भएका थिए ।

कांग्रेस राजनीतिमा देउवालाई ‘भाग्यमानी व्यक्ति’का रूपमा लिइन्छ । कांग्रेस दोस्रा पुस्ताका नेता देउवा ०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीका लागि बाटो खुलेको थियो । अल्पमतको एमाले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेपछि देउवाको प्रधानमन्त्री बन्ने भाग्य खुलेको हो । देउवा ०५२, ०५८ र ०६१ मा गरी तीन पटक प्रधानमन्त्री बने ।

०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राजा ज्ञानन्द्रले देउवालाई ०६१ मा पुन: प्रधानमन्त्री बनाएका थिए । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुन: हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनले यसअघि पटक–पटक हार बेहोरेका छन् । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजय भए । ०५७ पोखरामा भएको दसौं महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको तय भइसकेको फ्रान्स भ्रमण जानसमेत नदिई प्रधानमन्त्रीबाट हटाइएपछि देउवा त्यसैको असन्तुष्टिमा कोइरालाविरुद्ध पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । ०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए ।

तत्कालीन नेता सुशील कोइरालालाई पराजित गरी देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए । आफ्नो पक्षमा लाग्ने कार्यकर्ताको राम्ररी संरक्षण गर्ने र जे पनि निर्णय गर्न नहिच्किचाउने नेताको छवि देउवाको छ ।

नेपाली राजनीतिका केही कालखण्डका चर्चित पात्र हुन् । पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालीन माओवादीविरुद्ध लगाएको संकटकालको अवधि थप्ने निर्णय गरेपछि २०५९ सालमा देउवा पार्टीको कारबाहीमा परेका थिए । त्यसपछि कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी गठन गरेका देउवाले २०६४ मा पार्टी एकता गरेका थिए । पार्टी एकतायता संस्थापन र देउवा पक्ष दुई समूहको सधैँ गुटबन्दी हुँदै आएको छ । आन्तरिक पदीय लेनदेनमा ६० र ४० प्रतिशतको भागबन्डा चल्ने गर्थ्यो । अब देउवा आफैँ पार्टीको संस्थापन पक्षका रूपमा उदाएका छन् ।

चुनावअघि उनले आफूले जिते पार्टीभित्रको संस्थापन र अर्को पक्ष भन्ने कित्ताकाट समाप्त हुने भन्दै मतदातासमक्ष लबिङ समेत गरेका थिए । यस पटक जसरी पनि निर्वाचन जित्ने योजनाका साथ सुरुदेखि नै रणनीति बनाइरहेका देउवालाई संस्थापन पक्षबाट दुई उम्मेदवार खडा भएपछि अनुकूल स्थिति बनेको थियो ।

पार्टीभित्र स–साना उपगुट बोकेर बस्ने खुमबहादुर खडका, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, पूर्वसभामुख तारानाथ रानाभाट लगायतका नेताहरूलाई समेत आफ्नो पक्षमा ल्याएपछि देउवालाई थप बल मिल्यो । संस्थापन पक्षमै रहेका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलमा ल्याएर महामन्त्रीमा अघि सार्ने निर्णय पनि देउवाका लागि सभापति जित्न अनुकूल बन्यो ।
कान्तिपुरबाट


  •  
  •  
  •