काठमाडौं २३ फागुन ।
नेपाली कांग्रेसको नेतृत्वकालागि तीन नेता चुनावी रस्साकस्सीमा होमिएको बेला अर्ध सैनिक बल सशस्त्र प्रहरीले आफ्नो आधिकारीक टुइटर ह्यान्डलबाट सभापतिका प्रत्यासी शेरबहादुर देउवा प्यानलका समाचार सामाग्री ट्वीट गरेको छ।
banner-300X250
सशस्त्र प्रहरी ऐन र निमावली अनुसार संगठनले कुनै राजनीतिक दल वा ब्यक्तिलाई समर्थन गर्नु, राजनीतिक दलको सदस्यता लिनु दन्डनीय हो। तर, सभापतिकालागि देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएको बेला सशस्त्रले देउवा प्यानलको प्रचारमा सघाउ पुग्ने देउवा प्यानलका उम्मेदवारहरुको सूची आधिकारीक टुइटर ह्यान्डल नेपालएपिएफबाट शेयर गरेको हो।
शनिबार दिउस १ बजे सशस्त्रले एक अनलाइनले प्रकाशन गरेको नेपाली कांग्रेसको सभापतिका प्रत्यासी देउवाको प्यानलका उम्मेदवारहरुको सूचीसहितको समाचार शेयर गरेको हो। जसलाई यो समाचार तयार पार्दासम्म १२ जनाले रिटुइट र केहीले लाइक गरेका छन्।
केन्द्रीय सदस्यसम्मको प्यानल नबनाउँदा निर्वाचनको नतिजा प्रभावित हुने भएपछि देउवाले खुल्ला २५ देखि आरक्षणसम्मका सबै केन्द्रीय सदस्यहरुको नामहरु टुंगो लगाएको समाचारमा प्यानलका सबै उम्मेदवारहरुको नामावली राखिएको छ।
अर्ध सैनिक बलको आधिकारिक ह्यान्डलबाट कांग्रेसको कुनै एक पक्षलाई समर्थन हुने सामाग्री सार्बजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको चर्चा शुरु भएको छ। सशस्त्र बल कांग्रेसका सभापतिका तीन प्रत्यासीमध्ये देउवालाई जिताउन लागेको भन्दै १३ बढी प्रतिकृया आए पनि सशस्त्रले यसबारे कुनै प्रतिकृया जनाएको छैन।
यस अगाडि फागुन १२ मा समेत उसकै टुइटर ह्यान्डलमार्फत राजनीतिक सामाग्री सम्प्रेशण गरिएको थियो। फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सम्बन्धी अर्को एक अनलाइनको सामाग्री सम्प्रेषण गरेको थियो।
सशस्त्रले ट्वीट गरेको भारत भ्रमणमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त विज्ञप्ती नआउने खबरको सामाग्री सशस्त्रले अहिलेसम्म हटाएको छैन।
नागरिकबाट