तिहारमा देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र

219
  •  
  •  
  •  

काठमाडौँ, २३ कात्तिक(ओएनएस) : आजबाट तिहार सुरू भएको छ । तिहारमा देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । पहिले पहिले रातभर पनि देउसी भैलो खेल्ने प्रचलन रहेको थियो । तर, गृह मन्त्रालयले देउसी भैलो जस्ता कार्यक्रम मात्र राति १० बजेसम्म गर्न सबैलाई अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुँदा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनका लागि देउसी, भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न अनुरोध गरिएको छ ।
भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

आ-आफ्ना बालबच्चालाई भुँइचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्न नदिन मन्त्रालयले अनुरोध गरेको छ । यस विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •