काठमाडौँ, २७ फागुन(ओएनएस) : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
बूढानिलकण्ठस्थित आफ्नै निवासमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को बधाई तथा शुभकामना ग्रहण गर्दै सभापति देउवाले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै संविधानको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।
उनले सीमांकनलगायतका मधेसका अन्य मागलाई सम्बोधन गर्नका लागि पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । उनले केन्द्रीय समितिले पूर्णता पाएपछि नेविसंघ लगायत सबै भातृ संगठनको अधिवेशन गर्न पहल गर्ने उल्लेख गरे । उनले संगठनलाई सक्रिय बनाई पार्टीलाई गतिशिल र जीवन्त बनाउनका लागि संस्थाहरूको महाधिवेशन चाँडो हुनुपर्ने बताउँदै भने, ‘त्यसमा मैले व्यक्तिगत रूपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।’
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसङ्घको निर्वाचन नहुँदा सङ्गठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे ।