काठमाडौँ, २ चैत्र : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमतमा देखिएका छन्। नयाँ नेतृत्व चयनका लागि फागुन २३ गते भएको निर्वाचनको सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार देउवाले कार्यसमितिमा स्पष्ट बहुमत पाएका हुन्।
सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि ३ सय १२ जना नेता चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचनमा देउवालाई सभापतिसहित ३७ स्थान मिलेको छ । संस्थापन पक्षलाई महामन्त्री, कोषाध्यक्षसहित २७ पद हात लागेको छ ।
केन्द्रीय समितिमा निर्वाचितमध्ये १५ जना मात्र नयाँ हुन् । आरक्षण र प्रदेशबाट केही नयाँ अनुहारले केन्द्रीय समितिमा स्थान पाए पनि खुला २५ मा दुई जना मात्रै उदाए । अघिल्लो केन्द्रीय समितिमा नरहेका रमेश लेखक र विश्वप्रकाश शर्मा खुलातर्फ चुनिए । बाँकी २३ जना अघिल्लो केन्द्रीय समितिमा पनि थिए । खुला २५ मा सभापति देउवाको प्यानलबाट १४ र संस्थापनबाट ११ जना निर्वाचित भए ।
खुलातर्फबाट डा. शेखर कोइरालाले सबैभन्दा धेरै १ हजार ८ सय ४८ मत पाएका छन् भने खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत ल्याएर दोस्रो स्थानमा छन् । १२ औं महाधिवेशनमा गगनकुमार थापा पहिलो र अर्जुननरसिंह केसी दोस्रो धेरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । दुवै जना १३ औं महाधिवेशनमा महामन्त्री प्रत्याशी थिए ।
त्यस्तै, खुला २५ तर्फ निवर्तमान महामन्त्री प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मत पाएर तेस्रो तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले १ हजार ७ सय ७३ मत ल्याएर चौथो भए । नेता प्रदीप गिरी १ हजार ७ सय २५ मतसहित पाँचौं स्थानमा निर्वाचित भएका छन् ।
त्यस्तै, प्रदीप पौडेल १ हजार ७ सय ९ मतसहित छैटौं, बालकृष्ण खाँण १ हजार ७ सय ४ मतसहित सातौं, धनराज गुरुङ १ हजार ६ सय ९७ मत ल्याएर आठौं, रमेश लेखक १ हजार ६ सय ८९ मत पाएर नवांै तथा पूर्णबहादुर खड्का १ हजार ६ सय ८६ मतसहित दसौं स्थानमा निर्वाचित भए ।
त्यस्तै, विमलेन्द्र निधि १ हजार ६ सय ८०, बलबहादुर केसी १ हजार ६ सय ७४, महेश आचार्य १ हजार ६ सय ६९, विश्वप्रकाश शर्मा १ हजार ६ सय २०, सुजाता कोइराला १ हजार ६ सय १९, रामशरण महत १ हजार ६ सय ११, एनपी साउद र शंकर भण्डारी १ हजार ५ सय ४७, ज्ञानेन्द्रबहादुर कार्की १ हजार ५ सय २, गोपालमान श्रेष्ठ १ हजार ४ सय ९९, चन्द्र भण्डारी १ हजार ४ सय ९२, प्रकाशशरण महत १ हजार ४ सय ९१, बद्री पाण्डे १ हजार ४ सय ८५, नारायण खड्का १ हजार ४ सय ६४ र मीनेन्द्र रिजाल १ हजार ४ सय २० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
१२औं महाधिवेशनबाट सिंह महामन्त्रीमा निर्वाचित भएका थिए भने निधि महामन्त्रीमा पराजित भएपछि तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । त्यस्तै, केन्द्रीय सदस्यमा पराजित प्रदीप पौडेल र नारायण खड्कालाई सभापति कोइरालाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । खुलाबाट केन्द्रीय सदस्य निर्वाचित धनराज गुरुङ १२ औं महाधिवेशनमा आदिवासी जनजातिको आरक्षण सिट र बद्री पाण्डे अञ्चलबाट निर्वाचित भएका थिए ।
खुला २५ बाट निर्वाचितमध्ये खड्का, गुरुङ, गिरी, खाँण, लेखक, पूर्णबहादुर खड्का, निधि, शर्मा, साउद, भण्डारी, कार्की, श्रेष्ठ, भण्डारी र महत देउवा प्यानलका हुन् ।
त्यस्तै, प्रदेशबाट केन्द्रीय समितिमा प्रवेश पाउनेमा सभापति देउवा प्यानल र संस्थापनतर्फका बराबरी छन् । प्रत्येक प्रदेशबाट दुई÷दुई सदस्य निर्वाचित हुने विधानको प्रावधानअनुसार दुवै प्यानलबाट सात–सात जना निर्वाचित भए ।
प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे १ हजार ३ सय ४० र भीष्मराज आङ्देम्बे १ हजार २ सय ८, प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना १ हजार ४ सय ६१ र रमेश रिजाल १ हजार ४ सय ५७ मतसहित निर्वाचित भएका छन् ।
प्रदेश नम्बर ३ बाट नवीन्द्रराज जोशी १ हजार २ सय २५ र मोहनबहादुर बस्नेत १ हजार ६७, प्रदेश नम्बर ४ बाट गोविन्द भट्टराई १ हजार २ सय ९९ र सुरेन्द्रराज पाण्डे १ हजार २ सय ८६ मतसहित निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ५ बाट दीपक गिरी १ हजार ४ सय ७२ र देवेन्द्रराज कँडेल १ हजार ३ सय ४७, प्रदेश ६ बाट हृदयराम थानी १ हजार ६ सय १२ र जीवनबहादुर शाही १ हजार ५ सय २६ तथा प्रदेश ७ बाट दिलेन्द्रप्रसाद बडू १ हजार ६ सय २ र वीरबहादुर बलायर १ हजार ३ सय ८५ मतसहित निर्वाचित भएका छन् ।
प्रदेशबाट निर्वाचितमध्ये आङ्देम्बे, रिजाल, बस्नेत, पाण्डे, कँडेल, शाही र बलायर देउवा निकट हुन् । बलायर, थानी, कँडेल र बस्नेत केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् ।
त्यस्तै, यसअघि सार्वजनिक आरक्षणतर्फको मत परिणामअनुसार महिला ६ सिटमा सभापति देउवा निकट चार जना निर्वाचित भएका छन् भने संस्थापनबाट दुई जना मात्र केन्द्रीय समितिमा पुग्न सफल छन् । महिला आरक्षणतर्फ डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, ईश्वरी न्यौपाने, सरिता प्रसाईं र अम्बिका बस्नेत विजयी भएका छन् । नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी संग्रौला र प्रसाईंबाहेक चार जना अघिल्लो कार्यसमिति सदस्य हुन् । पन्त र प्रसाईं संस्थापन पक्षका हुन् भने अन्य चार देउवा प्यानलबाट निर्वाचित भए । आदिवासी जनजाति पुरुषमा चिनकाजी श्रेष्ठ, बहादुर लामा र कल्याण गुरुङ निर्वाचित भएका छन् । श्रेष्ठ र गुरुङ संस्थापन पक्षका हुन् भने लामा देउवा प्यानलका । त्यस्तै, आदिवासी जनजाति महिलातर्फ सीता गुरुङ र रत्ना शेरचन दुवै देउवा प्यानलबाट निर्वाचित भएका हुन् । जनजाति कोटाबाट निर्वाचित श्रेष्ठ र लामा मात्र पहिलोपटक केन्द्रीय समितिमा पुग्दैछन् ।
दलित कोटाबाट जीवन परियार, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार र लक्ष्मी परियार निर्वाचित भए । जीवनबाहेक सबै देउवा प्यानलका हुन् भने लक्ष्मी मात्र नयाँ अनुहार हुन् । मधेसीतर्फबाट अजय चौरसिया, महेन्द्र यादव, रामकृष्ण यादव, किरण यादव र पार्वता डिसी चौधरी निर्वाचित भएका छन् । रामकृष्ण र किरणबाहेक अन्य देउवापक्षीय हुन् । यी दुवै पहिलोपटक केन्द्रीय समितिमा पुगेका हुन् । मुस्लिम एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर विजयी भएका छन् ।
– नागरिक दैनिकबाट