सुदूरपश्चिममा देउवाको हस्तक्षेपकारी अग्रता

5769
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) : नेपाली कांग्रेसको महाधिवेशनका दिन नजिकिँदै गर्दा तल्ला तहका अधिवेशनहरुले केन्द्रीय नेतृत्वको वजनलाई समेत अनुमानयोग्य बनाउँदै छन् । केन्द्रदेखि स्थानीय तहसम्मै संस्थापन र देउवा पक्षबीच देखिएको स्पष्ट विभाजनले यस्ता अनुमानलाई थप आधार दिएको छ । यस क्रममा पूर्व, मध्य र पश्चिम क्षेत्रमा विभाजित र मिश्रित देखिएको नतिजा सुदूरपश्चिममा पुग्दा शेरबहादुर देउवाको प्रभाव अपेक्षा गरिएभन्दा निकै गाढा देखिएको छ । सुदूरपश्चिमबाट ७० प्रतिशतभन्दा बढी प्रतिनिधि देउवापक्षबाट आउन सक्ने प्रारम्भिक आकलनहरुबाट देखिएको छ ।

सुदूरपश्चिमका ९ जिल्लामध्ये संस्थापन पक्षको बलियो प्रभाव दार्चुलामा मात्रै देखिएको छ । कांग्रेस प्रवक्ता दिलेन्द्र बडूको गृहजिल्ला समेत रहेकाले पनि त्यहाँ संस्थापनको उपस्थिति प्रभावपूर्ण देखिएको हो ओएनएस। बैतडीमा करिब आधा–आधा हुन सक्ने अनुमान गरिएको छ । देउवाकै गृहजिल्ला डडेल्धुरामा शतप्रतिशत देउवापक्षीय आउने सम्भावना रहेको पाइएको छ । बाजुरा, बझाङ र डोटीमा मिश्रित प्रतिनिधि आए पनि देउवा पक्षको मत ६० प्रतिशत नाघ्ने अनुमान छ ।

कैलाली र कञ्चनपुरमा अपेक्षा गरिएभन्दा बढी नै देउवा पक्षीय प्रतिनिधिहरु निर्वाचित भएको आकडा विभिन्न माध्यमबाट प्राप्त भएका छन् । कैलाली र कञ्चनपुरमा संस्थापन पक्षका प्रभावशाली नेता एवम् पूर्वमन्त्रीहरु समेत वडाबाटै पराजित भएका घटनाले सुदूरपश्चिममा संस्थापन पक्षलाई धक्का पुगेको छ । सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिनिधि आउने र समग्र विकास क्षेत्रकै राजनीतिलाई प्रभावित गर्न सक्ने ठानिएको कैलालीबाट ७०–३० को अनुपातमा देउवा र संस्थापन पक्षका प्रतिनिधि आउने स्थानीय अवलोकनकर्ताहरुले जनाएका छन् । कैलालीमा देउवाको अखण्ड सुदूरपश्चिमको अडानको प्रभावले पनि सकारात्मक माहोल बनेको छ ओएनएस। कञ्चनपुरको दक्षिणी भेगको १ नं. क्षेत्रमा संस्थापन पक्षका दिवानसिंह विष्टको प्रभाव देखिए पनि बाँकी ३ क्षेत्रमा देउवा पक्षकै लहर पाइएको छ ।

यसअघि संस्थापनको पकड रहेका कतिपय स्थानमा अहिले देउवाले प्रभाव जमाएका छन् । संस्थापन पक्षमा देखिएको कलह र समानान्तर दाबीहरुको फाइदा पनि देउवा पक्षलाई पुग्ने देखिएको छ । जस्तो कि बाजुरामा संस्थापन पक्षका दुई प्रभावशाली नेताहरु जनकराज गिरी र बद्री पाण्डेबीचको टकरावको फाइदा देउवा पक्षका कविराज पण्डितहरुले उठाउने स्थिति बनेको छ ओएनएस। गिरी सुजाता कोइराला र पाण्डे सुशील कोइरालाका विश्वास पात्र भएकाले यी दुईबीचको कलहले जिल्लाभरिका स्थानीय अधिवेशन र प्रतिनिधि चयनमा देउवा पक्षको पल्लाभारी देखिएको हो ।

केन्द्रमा सुशील कोइराला र रामचन्द्र पौडेलले अलगअलग रुपमा सभापतिमा दाबी गर्नु, कोइराला परिवारभित्रै सुजाता, शेखर र सशांकबीच दावी–प्रतिदावीहरु देखिनु र देउवाले आफ्नो राजनीतिक जीवनकै अन्तिमपटक पार्टी सभापतिका लागि भोट माग्ने घोषणा गर्नुले देउवाको गृह क्षेत्र उनको पक्षमा देखिएको हुन सक्ने विश्लेषण गरिएका छन् । गतः प्रधानमन्त्रीको निर्वाचनमा कोइरालाले अन्तिममा उम्मेदवारी दिँदा युवा कांग्रेसीहरुमा त्यसको नकारात्मक छाप परेको पाइएको छ । यद्यपि, देउवा पक्षबाट निर्वाचित भएका भनिएकामध्ये अन्तिमसम्ममा यही कित्तामा कति टिक्छन् भन्नेचाहिँ अन्य तत्वले पनि निर्धारण गर्नेछन् ओएनएस। कतिपयले माथिको समीकरणलाई पर्खिने, आफ्नो भावी अवस्थितिलाई हेर्ने लगायत कारणले मुख खोलिसकेका छैनन् । तर, यस खालको मत करिब ५ प्रतिशत मात्र हुन सक्ने विश्लेषण गरिएको छ । संस्थापन पक्षले सुदूरपश्चिमबाट २५ प्रतिशतको हाराहारी  प्रतिनिधि पाउने सम्भावना रहेको स्थानीय अधिवेशनका अवलोकनकर्ताहरुबाट बुझिएको छ ।

सम्बन्धित समाचार :

यस्तो छ सुदूरपश्चिममा कांग्रेस अधिवेशनको हिसाबकिताब


  •  
  •  
  •