महोत्तरी, ११ कात्तिक(ओएनएस) : भारतीय सीमा क्षेत्रसँग जोडिएका सहायक मार्गहरुबाट भइरहेको तस्करी रोक्न मधेशी मोर्चाका कार्यकर्ताहरु सडक काटेर अवरुद्ध गर्न थालेका छन् ।
मटिहानी, पर्सापतैली, जलेश्वर नगरपालिका, नैन्ही, बथनाहा, कट्टीकटैया, मनरा, पोखरभिण्डा, गैढाभेटपुर, समसी, रधुनाथपुर, खैरबन्नीसहितका ठाउँहरुमा रहेका सीमा जोड्ने सहायक कच्ची मार्गहरुमा मोर्चाका कार्यकर्ताहरुले खाल्डो बनाएका छन् । झण्डै अढाई महिनादेखि मोर्चाका कायकर्ताहरुले भिठामोडमा नाका जाम गरेपछि धनुषाको महेन्द्रनगर डिपोमा एक थोपा पेट्रोलियम पदार्थ पुग्न सकेको छैन ।
बजार र यातायात ठप्प भएको मौका छोपेर तस्कर र उपभोक्ताहरु सीमासँग जोडिने सहायक मार्गको अत्याधिक प्रयोग गर्न थालेपछि मोर्चाका कार्यकर्ताहरुले सडक अवरुद्ध बनाएका हुन् ।
मोर्चाका कार्यकर्ताहरुले सहायक मार्गहरुमा निगरानी गर्दा दिनहुँ पेट्रोल, डिजेलसहित अत्यावश्यक सामानहरु तस्करी हुन थालेपछि नियन्त्रणमा लिई नष्ट गर्ने तथा बाटोहरु अवरुद्ध पार्ने काम थालेको देखिन्छ ।