देशमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लागेको छ : सांसद अधिकारी

456
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले देशमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लागेको भन्दै त्यसमा सरकारले ख्याल ठट्टा गरेर बसिरहेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठे पनि सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

विप्लवले हतियारको राजनीति र चन्दा आतंक सुरु गरिसकेको भन्दै अधिकारीले सरकारले लुटेरा समूह भनेर कानूनी ढंगले मात्र समाधान खोज्नु गलत भएको बताए ।

विप्लवको पार्टीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीले पनि समस्या चर्काउन खोजेको अधिकारीले आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले लोकतन्त्रको नाममा आशु बगाउनेहरु किन विप्लवपट्टि लागेका भनिरहनुभएको छ ।यसरी जिस्किने विषय हो ’?

अधिकारीले प्रतिपक्षलाई विश्वासमा अब कसरी अगाडि बढ्ने भनेर गम्भीर विमर्श गर्न सरकारलाई सुझाव दिए ।
सरकारले विप्लवका गतिविधिलाई नियन्त्रण गर्न कानून प्रयोगमा कसैले रोक नलगाएको भन्दै उनले राजनीतिक ढंगले पनि समाधानको बाटो खोज्न आग्रह गरे ।

विप्लव आफैँ १२ बुँदे सहमतिको हिस्सा भएको र पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएकाले अहिले फेरि हतियार र चन्दा आतंकमा लाग्नु उचित नहुने उनको भनाइ छ ।


  •  
  •  
  •