के हो डेंगु, यसकाे लक्षण र बच्ने उपाय

155
  •  
  •  
  •  

काठमाडौं । यतिबेला काठमाडौं उपत्यकासहित देशका ४२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ ।  खासगरि डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।

डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ ।
डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरहरु बताउँछन् ।

डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ ।

यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

डेंगुका लक्षण

  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु, पेट दुख्नु
  • वाकवाकी लाग्नु
  • आँखाको गेडी दुख्नु
  • जीउ, जोर्नी दुख्नु
  • उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु

रोकथामका उपाय

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
  • बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
  • पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
  • फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
  • एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने
  • बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
  • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
  • घरका झ्याल ढोकामा जाली लगाउने
  • घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने

डेंगु देखिए के गर्ने ?

  • डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
  • उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
  • उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
  • समयमा नै रगत परीक्षण गराउनुपर्छ ।

  •  
  •  
  •