‘डेंगुबारे भ्रम नछरौं’

59
  •  
  •  
  •  

रुपन्देही । प्रदेश न. ५ मा डेंगु रोग महामारीको रुपमा नफैलिएको प्रदेश सरकारले दाबी गरेको छ ।  प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको छ भने सयौं बिरामी भएका छन् ।

तर प्रदेश सरकारले भने यसलाई सामान्य र विगतका वर्षभन्दा कम प्रभाव भनेको छ । सरकारले दिने तथ्यांकमा पनि एकरुपता छैन ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले बाहिर हल्ला भएजस्तो डेंगुको भयावह अवस्था नरहेको दाबी गरे ।

उनले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी दिए । उनले यसमा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको दाबी गरे ।

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.बिनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको उनले बताए । उनले प्रदेश ५ मा १ सय ४९ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए ।

डेंगुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए । व्यवहार परिवर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा. गिरिको सुझाव छ ।

उनले हरेक दिन स्वास्थ्य निर्देशनालयले प्रदेशको डेंगुको तथ्यांक सार्वजनिक गरिने बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताए । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा.खनालले जानकारी दिए ।

उनले किट अभाव भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयावह अवस्था नरहेको दावी गरे ।
९० प्रतिशत डेंगु आफैँ निको हुने र १० प्रतिशत हेरचाह, स्वास्थ्य खानपान र उपचारपछि ठिक हुने बताए ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए । उनले सचेतना र खोज र नष्ट अभियान जारी राखिएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गरे । उनले बुटवलका १९ वटै वडा, ३०२ टोल, ९५ वटा स्कुलमा अभियान चलाइएको बताए ।

मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताए ।
अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए ।

उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए । उनले डेंगुको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले निजि अस्पतालमा गरेको उपचारको सरकारीपक्षले वेवास्ता गर्ने गरेको गुनासो गरे ।


  •  
  •  
  •