गोदावरी क्षेत्रलाई नगरपालिका घोषणा गर्न माग

85
  •  
  •  
  •  

काठमाडौं, भदौ २ (ओएनएस) : हरिसिद्धि र ठैब गाविस सर्वदलीय समिति ललितपुरले गोदावरी क्षेत्रको ६ वटा गाविसहरूलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसंग माग गरेको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले उपत्यकाका गाविसहरूको समायोजन गरी नगरपालिका निर्माण गर्ने निर्णय बमोजिम ललितपुरको गोदावरी क्षेत्रको ६ वटा गाविसहरू हरिसिद्धि, ठैब, गोदाबारी, बडिखेल, गोदामचौर, विशंखुनारायणलाई समायोजन गरी गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको हो ।

कार्यक्रममा सर्वदलीय समितिका संयोजक दिपेन्द्र श्रेष्ठले सवै राजनीतिक दलहरूको सहमतीकै आधारमा आफूहरूले ललितपुरका ६ वटा गाविसलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको बताए । श्रेष्ठले प्रस्तावित गोदावरी नगरपालिकामा ६ वटा गासिसहरूलाई समायोजन गर्दा भौगोलिक सन्तुलन समेत कायम हुने धारणा राखे ।

त्यस्तै एमाओवादीका नेता लीलामणि पोखरेलले पनि ६ वटा गाविसहरूलाई अलग बनाएर कुनै पनि हालतमा नगरपालिका बनाउन नहुने धारणा राखेका छन् । पोखरेलले सवै सामाजिक, साँस्कृतिक र धार्मिक सवै दृष्टिकोणले समिश्रित ६ वटा गाविसहरूलाई अगल बनाएर नगरपालिका घोषण गरे आफूहरूलाई मान्य नहुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं. ३ का अध्यक्ष गजेन्द्र महर्जनले पनि ६ वटा गाविसहरूको संयोजनमा नगरपालिका निर्माण गर्नुपर्ने धारणा राख्दै आफूले सोही अनुरुपको दबाब पार्टीमा दिने पनि बताए । महर्जनले सरकारले ६ वटा गाविसहरूमध्ये एउटालाई पनि अलग बनाएर नगरपालिका घोषणा गरे आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य बाबुकाजी प्रधान, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य दीपराम महर्जन, नेकपा एमाले हरिसिद्धि गाउ कमिटीका अध्यक्ष गणेश महर्जन लगायतले ऐक्यबद्धता जनाउँदै प्रस्तावित नगरपालिकामा ६ वटा गाविसहरूलाई समायोजन गर्नुपर्ने धारणा राखेका छन् ।


  •  
  •  
  •