पञ्जाबलाई पराजित गर्दै दिल्लीले दर्ता गर्यो पहिलो जित

207
  •  
  •  
  •  

delhi vs panjabकाठमाडौ, ३ बैशाख(ओएनएस) : ईण्डियन प्रिमियर लिग अन्तरगत गयराती भएको खेलमा दिल्ली डेयरडेभील्सले किङ्ग्स इलेभन पञ्जाबलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । पुणेको महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १ सय ६६ रनको विजय लक्ष्य दिल्लीले मात्र १ बल बाँकी रहँदा भेट्टाएको थियो ।

दिल्लीलाई पहिलो जित दिलाउने क्रममा मानांक अग्रवाल र युवराज सिंहले उत्कृष्ट प्रदर्शन गरेका थिए । मानांक अग्रवालले ४८ बलमा ६८ रन र युवराज सिंहले ३९ बलमा ५५ रन जोडेपछि दिल्लीको जित सम्भव भएको हो । यी दुईले तेस्रो विकेटका लागि १ सय ६ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान जेपी डुम्नीले २१ रन जोडेका थिए । यता पञ्जाबका लागि अनुरीत सिंहले एकै ओभरको लगातार दुई बलमा युवराज र मानांकलाई आउट गर्दै दुई विकेट हासिल गरेको थिए भने सन्दीप शर्मा र अक्षर पटेलले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । उसका लागि वीरेन्द्र सहबागले सर्वाधिक ४७ रनको योगदान गरे भने रिद्धिमन शाहले ३९ रन, कप्तान जर्ज बेलीले १९ रन, मुरली विजयले १९ रन, ग्लेन म्याक्सवेलले १५ रन, अक्षर पटेलले १३ रन जोडेका थिए । यता दिल्लीका लागि इमरान ताहिरले ३ विकेट हात पारे भने कप्तान डुमनीले २ विकेट र अमित मिश्रा र एजेन्लो म्याथुजले समान १-१ विकेट हात पारे ।

खेलको म्यान अफ दी म्याच मानांक अग्रवाल घोषित भए ।


  •  
  •  
  •