काठमाडौ, २१ पुस (ओएनएस) : नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने भन्दै मस्यौदा जारी गरेर जेठ १५ गते संविधान जारी गर्नुपर्ने बताएका छन ।
सोमबार राजधानीमा भएको एक कार्यक्रममा नेता दिपकुमार उपाध्यायले माघ ८ गते संविधान जारी हुन सक्ने अवस्था नभएकोले सो मितिमा मस्यौदा जारी गरेर जेठ १५ मा संविधान जारी गर्न सकिने गरी सहमति गर्न सकिने बताए ।
उनले दलहरुबीच शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमति हुन लागेकोले अब संघीयताको सिमाङकनमा मात्र विवाद भएकोले माघ ८ सम्ममा मस्यौदा भने जारी हुन सक्ने विश्वास ब्यक्त गरे ।
सहमतिको लागि एमाओवादी नेतृत्वको मोर्चाले ल्याएको १० प्रदेश सकारात्मक भएको भन्दै यसले सहमतिको लागि मद्दत गर्ने बताए । उनले भने–‘यो प्रस्ताव सकारात्मक छ । यसले सहमतिको बातावरण निर्माण गर्छ । हामी यसमा बसेर छलफल गर्न तयार छों ।’
माघ ८ गते संविधान जारी भए पूर्व सहमति अनुसार काग्रेसले एमालेलाई सरकारको नेतृत्व छाड्ने स्पष्ट पार्दै संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने पनि उनले ठोकुवा गरे ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ ८ गते अघि पछि नगरी संविधान जारी हुने दाबी गर्दै सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने स्पष्ट पारे । उनले भने–‘माघ ८ गते सहमति सहित संविधान जारी गर्ने पक्षमा हामी छौं, तर सहमति भएन भने पनि अब प्रक्रियाबाट संविधान जारी गरिन्छ त्यसमा दुई मत छैन ।’
उनले माघ ८ गते पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने ठोकुवा गर्दै मार्सल, कफ्र्यू लगाएर संविधान जारी गर्ने भन्ने आरोप झुठको खेती रहेको दाबी गरे ।
एकीकृत नेकपा माओवादीका नेता खिमलाल देबकोटाले संविधानसभा अध्यक्षको प्रस्ताव ग्राईण्ड डिजाईन अन्र्तगत आएको भन्दै अध्यक्षको अध्याँरो कार्यकक्षमा संविधानको मस्यौदा तयार भईसकेकोले त्यसलाई सेना र मार्सल लगाएर जारी गर्ने तयार भईरहेको सूचना आफूले पाएको बताए ।
माघ ८ गते जसरी पनि संविधान जारी गर्ने तयारी केपी ओलीको प्रधानमन्त्री र सुशील कोइरालको राष्ट्रपति बस्ने हुटहुटी भएको आरोप लगाउँदै प्रचण्ड र बाबुराम भट्टराई जसरी पनि प्रक्रियाबाट संविधान जारी हुन नदिने पक्षमा रहेकोले संविधानभित्र र बाहिर दुबैमा भिडन्त हुने चेतावनी दिए ।
उनले भिडन्तका मतियार ओली, प्रधानमन्त्री र सभामुख बनेको भन्दै सभामुख लोकतान्त्रिक प्रक्रियालाई तहस नहस पारेर तानाशाह बन्न लागिपरेको आरोप लगाए ।
देबकोटाले भने–‘सभामुखले पहिलो संविधानसभा सूचना टासेर समाप्त पारे, दोस्रोलाई प्रक्रियाको नाममा समाप्त पार्दैछन ।’ उनले आफूले ग्राईण्ड डिजाईनको ठोस सूचना पाएर रिपोर्टर्स क्लब नेपालमा बोल्द आएको दावी गर्दै यसमा लोकतन्त्रलाई समाप्त पारेर मुलुकलाई फेरि द्धन्दमा लैजाने षडयन्त्र लुकेको दावी गरे ।