जलविद्युत आयोजनाको शेयर वितरणका मुद्धामाथि छलफल सुरु

260
  •  
  •  
  •  

काठमाडौं, ३ बैशाख (ओएनएस) : जलविद्युत आयोजनाले स्थानीय नागरिकलाई दिने शेयर सँख्या बारे स्पष्ट नीति बनाउने विषयमा छलफल सुरु भएको छ । नीति फाउण्डेशन नामको गैरसरकारी संस्थाको आयोजनामा विहीबार राजधानीमा शेयर वितरणका मुद्धामाथि सरोकारवाला निकायसँग छलफल भएको हो ।

चिलिमे जलविद्युत आयोजनाले विद्युत उत्पादन भएपछि स्थानीयबासीलाई १० प्रतिशत शेयर उपलब्ध गराएको थियो भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माणका क्रममैं दोलखाबासीलाई १० प्रतिशत शेयर दिन लागेको छ । छलफलमा चिलिमे मोडल उपयुक्त हो की तामाकोशी मोडेल उपयुक्त हो भन्ने विषयमा व्यापक छलफल भयो ।

छलफलमा संविधानसभा अन्तर्गतको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापा लगायतका सभाषद, सरकारी निकायका प्रतिनिधि, उर्जा उत्पादक कम्पनीमा प्रतिनिधि, सरोकार समितिका पदाधिकारी, लगानी बोर्ड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

देशको जलविद्युत तथा उर्जा नीतिका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम अधिकृत सौमित्र न्यौपानेले बताए । उनले भने, ‘पछिल्लो समयमा उर्जासम्बन्धी ऐन बन्न लागेको छ भन्ने थाहा पायौं । यस विषयमा नीति निर्माता तथा उर्जा उत्पादकदेखि सरोकारवाला निकायका बीचमा अन्तरक्रिया भएको छैन भन्ने थाहा पाएर कार्यक्रम गरेका छौं । जसबाट नीति निर्माताले वास्तविकता जान्न पाउँछन् र प्रभावित क्षेत्रका नागरिक, उर्जा उत्पादक लगायतको समस्या समाधान हुन्छ ।’

स्वदेशी लगानीमैं जलविद्युत आयोजना बन्न थालेको र स्थानीयले पनि लगानीमा चासो देखाउन थालेपछि शेयर वितरणमा देखिएको विवाद समाधानका लागि पहल गरिएको नीति फाउण्डेशनले जनाएको छ । कार्यक्रमका सहभागीले स्वदेशी लगानी, व्यवस्थापन र प्रविधिको प्रयोग गरेर जलविद्युत आयोजना बनाउनु पर्नेमा जोड दिएका छन् ।

आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका नागरिकलाई अनिवार्य १० प्रतिशत शेयर वितरण गर्ने व्यवस्था सहितको नीति बनाउनु पर्ने उनीहरुको भनाइ छ । रसुवाका पूर्वसभाषद प्रेमबहादुर तामाङ्ले आयोजना निर्माण क्षेत्रमा धेरैवटा सरोकार समूह बन्ने गरेकोले त्यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।

सभाषद पशुपती चौलागाइँले माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानी र व्यवस्थापनमा बन्न लागेकोले कम लागतमा सम्पन्न हुने बताए । उनले भने, ‘सस्तोमैं आयोजना सम्पन्न हुने र फाइदा धेरै हुन्छ भन्ने हल्लाका कारण शेयर किन्नेहरुको चासो बढेको हो । समयमैं सम्पन्न गर्नुपर्छ भनेर दोलखाका सबै राजनीतिक दल एक भएर लागेका छौं । दोलखाबासीले पाउने शेयरका विषयमा केहि विवाद देखिए पनि समयमैं सकिनेमा हामी विश्वस्त छौं । लागत बढ्न दिँदैनौं ।’

दोलखामा निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४ सय ५६ मेगावाट क्षमताको हुनेछ । निर्माण सुरु भएको ४ वर्षको अवधिमा ७५ प्रतिशत काम सकिएको र अबको एक वर्षभित्र विद्युत उत्पादन हुने आयोजनाका वातावरण तथा जनसम्पर्क प्रमुख डाक्टर गणेश न्यौपानेले बताए ।

उनले भने, ‘समयमैं काम सकेर कम लागतमा विद्युत उत्पादन गर्न हामी लागिपरेका छौं । सबैको साथ र सहयोग पनि मिलेको छ । ४ सय ५६ मेगावाट विद्युत उत्पादन भएपछि हरेक वर्ष दोलखाले पाउने रोयल्टीबाटै दोलखाको कायापलट हुन्छ ।’ दोलखाका २ लाख ८० हजार नागरिकलाई प्रतिव्यक्ति ३५ कित्ताका दरले शेयर वितरण गर्न लागिएको छ ।

संयुक्त रुपमा जोखिम वहन गर्ने गरी निर्माणका क्रममैं स्थानीयलाई पनि शेयर दिन लागिएको नागरिक लगानी कोषका शेयर बिभाग प्रमुख नारायण घिमिरेले बताए । उनले भने, ‘माथिल्लो तामाकोशीका लागि कर्मचारी सञ्चय कोषको १० अर्ब ऋण सहयोग, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोष र बीमा संस्थानले समान दुई दुई अर्ब लगानी छ । बचतकर्ताहरुका लागि शेयरको पनि व्यवस्था गरिएको छ । शेयर सूचीकृत भएर खरिद बिक्रीको प्रक्रियामा पुग्न अझै केहि वर्ष लाग्छ ।’

लामावगर सरोकार समूहका अध्यक्ष मिजार शेर्पाले तामाकोशीमा शेयर लगानी गर्न लामाबगरमा स्थानीयले सहकारी खोलेको बताए । उनले भने, ‘शेयरमा लगानी गर्न रकम बचत गर्ने उ२ेश्यले छोस्याम हिमालय बचत तथा ऋण सहकारी स्थापना गरेका थियौं २०६५ मैं । अहिले एक जनाले ३५ कित्ता शेयर किन्न पुग्ने पैसा जम्मा गरेका छन् । परिवारका अरु सदस्यको लागि चाहिने रकम बचत गर्न बाँकी छ ।’

नीति फाउण्डेशनले सोशल साइन्स वहासँग मिलेर गरेको कार्यक्रममा चिलिमे र माथिल्लो तामाकोशी जलविद्युत शेयरको खरिद बिक्रीका सिकाइ तथा चुनौती, स्थानीय मुद्धा तथा सरोकार र नीति निर्माण तथा कार्यान्वयनका विषयमा छलफल भएको थियो ।


  •  
  •  
  •