काठमाडौं ९ वैशाख (ओएनएस) : सरकार एक मन्त्रीले नै बलात्कारमा संलग्नलाई मृत्युदण्डको सजाय दिनुपर्ने बताएका छन् । उर्जामन्त्री राधा ज्ञवालीले महिला हिंसा नियन्त्रणका लागि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताएकी छन् ।
महिला आयोगले गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले महिला हिंसा अन्त्यका लागि महिलामाथि हुने बलात्कारका दोषीमाथि मृत्युदण्डको प्रावधान राख्न आफूले पहल गरिरहेको पनि बताइन । राष्ट्रिय महिला आयोगद्वारा ‘स्थानीय निर्वाचनमा लैङ्गिक समावेशिता तथा सहभागिता’ विषयमा राजधानीमा गरिएको कार्यक्रमका मन्त्री ज्ञवालीले महिलाको सहभागिता ५० प्रतिशत ग्यारेन्टी गर्नुपर्ने बताइन ।
उनले महिला सहभागिताका लागि दलहरु नै उदासिन रहेको आरोप लगाइन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले राष्ट्रिय महिला आयोगलाई संवैधानिक आयोगका रुपमा रुपान्तरित गर्न पहल भइरहेको जानकारी दिँदै नीति निर्माण तहमा ३३ प्रतिशत महिला सहभागिताको कार्यान्वयन फितलो भएको बताइन ।
महिला आयोगका अध्यक्ष शेषचाँद तारा र सदस्य मोहना अन्सारीले स्थानीय निर्वाचनमा लैङ्गिक समावेशिता नीति अवलम्बनका लागि आयोगले छलफल अगाडि बढाइरहेको बताइन ।