‘मर्ने न बाँच्ने अवस्थामा छु’

137
  •  
  •  
  •  

‘मर्ने न बाँच्ने अवस्थामा छु'
काठमाडौं २६ चैत । ‘म निकै दुःखमा छु। तपाईँलाई थाहा छ, मलाई सुगर र ब्लड प्रेसर छ। क्याम्पमा उपचार हुँदैन। अब के गर्नुपर्छ तपार्इं आफैं बुझ्न सक्नुहुन्छ। नागरिकता पप्पुसँग छ, दाइसँग पठाइदिनुहोला।’ मलेसियाको सिलङ्गोरस्थित सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) मा रहेका एक नेपालीले परिवारलाई लुकिछिपी पठाएको पत्रको पेटबोली हो यो। ती नेपाली अवैध रूपमा मलेसिया बसेको आरोपमा पक्राउ परी जेल सजाय काटेर घरफिर्ती केन्द्र पुगेका हुन्।
मलेसियामा अध्यागमन क्याम्पलाई घरफिर्ती केन्द्र भनिन्छ। त्यही क्याम्पबाट छुटेर नेपाल फर्केका साथीको हातमा उनले यस्तो बेहोराको चिठी पठाएका हुन्।  सिमिनिया क्याम्पमा दर्जनौं नेपाली घर फर्कने पालो कुरिरहेका छन्। मलेसियास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) उपलब्ध गराएपछि र परिवारले हवाई टिकट पठाएपछि मात्र अध्यागमनले उनीहरूलाई स्वदेश पठाउने गर्छ। त्यही क्याम्पमा रहेका इन्डोनेसियाका नागरिक भने एक सातामै घर फर्कन्छन्। नेपालीलाई भने महिनौं लाग्छ।

पक्राउ परी जेल सजाय काटेर क्याम्पमा आउँदासम्म उनीहरूलाई परिवारजनसँग कुराकानीसमेत गर्न दिइँदैन। त्यही भएर उनीहरू क्याम्पबाट छुटेका साथीभाइका हातमा चिठी पठाउने गर्छन्, त्यो पनि लुकिछिपी। त्यहाँका अधिकारीले पत्र लेखेको देखे र लगेको थाहा पाए कट्टुसमेत खोल्न लगाई नांगै पारेर यातना दिने गरेको त्यहाँबाट फर्कनेहरूले बताएका छन्।
एक महिनाअघि स्वदेश फर्केका स्याङ्जा, निबुवाखर्क–७ का कृष्ण न्यौपानेले नेपाल आउँदा ५० जनाको पत्र बोकेर आएका थिए। उनको परिवारले पनि उनी जेल परेको ७ महिनापछि मात्र जानकारी पाएको थियो। उनले यसैगरी लुकिछिपी चिठी पठाएर आफू जेल परेकोबारे परिवारलाई अवगत गराएका थिए।

malesiya2

‘कसैको घरमै चिठी पुर्‍याएँ, कसैलाई फोन गरेर जानकारी दिएँ। अझै केही चिठी पुर्यारउन बाँकी छ,’ न्यौपानेले नागरिकसँग भने।
उनका अनुसार क्याम्पमा चिठी लेख्न कागज, कापी केही पाइँदैन। क्याम्पका प्रहरीले फ्याँकेका चुरोटका खाली बट्टा, कागजका ससाना टुक्रामा लुकीलुकी लेख्नुपर्छ। ती कागजमा आफ्नो परिवारका सदस्यको नाम, ठेगाना, फोन नम्बर र सन्देश अटाउनुपर्छ।
‘अस्तिको टिकट के भयो केही पनि थाहा छैन। जसरी भए पनि अर्को टिकट फ्याक्स गर्नू। म यहाँ मर्ने न बाँच्ने अवस्थामा छु। म काठमाडौं आउने बेला शान्तिलाई बोलाउनू,’ न्यौपानेले ल्याएको अर्को पत्रमा उल्लेख छ।

malesiya3
चिठीमा प्रायःले आफ्नो अवस्था खुलाउँदै जतिसक्दो छिटो हवाई टिकट पठाउन आग्रह गर्ने गरेका छन्।
‘म मलेसियाको जेलबाट रिहा भएर अहिले अध्यागमन क्याम्पमा छु। म यहाँ अर्कै नामबाट दर्ता भएको छु। नाम फेरिँदैमा डराउनुपर्दैन, अबदेखि मलाई यही नामले बोलाउँदा केही फरक पर्दैन। तपार्इंहरूले नेपाली दूतावासमार्फत हवाई टिकट पठाइदिनुभयो भने म एक महिनाभित्र फर्कन सक्छु,’ क्याम्पबाट अर्का एक नेपालीले लेखेका छन्।
फर्केकाहरूका अनुसार क्याम्पमा रहने मलेसियाली प्रहरी तथा अधिकारीले सकेसम्म एयर एसियाकै टिकट किन्न दबाब दिने गर्छन्। अरू एयरवेजको टिकट ल्याए हराइदिने गरेको उनीहरूको भनाइ छ। यसैकारण त्यहाँबाट स्वदेश फर्कन चाहनेले सकेसम्म एयर एसियाकै टिकट मगाउने गर्छन्।
‘मिनलाई फोन गरेर भन्न लगाउनू, उसको तलबबाट एयर एसियाको एउटा टिकट काटेर फ्याक्स गरिदिनू। मंगलबार र बिहीबार पारेर काट्नू,’ न्यौपानेले ल्याएको एक पत्रमा उल्लेख छ। नागरिकबाट


  •  
  •  
  •