कैद भुक्तान गरिरहेकी विदेशी महिलाको मृत्यु

133
  •  
  •  
  •  

death
चितवन, १४ भदौ (ओएनएस) : चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण बुधबार बिहान मृत्यु भएको छ ।

नक्कली पैसा कारोबार मुद्दाका दोषी पाकिस्तानी नागरिक जुलेखा बानोको विहान ७ बजे उपचारको क्रममा मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

उनी स्तन क्यान्सरबाट पीडित थिइन् । बानोकोलाई काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान गरेको थियो । पासपोर्ट नम्बर ए ३३७९५१८१ रहेकी उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो ।

क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गएको फागुन ७ गते केन्द्रीय कारागार काठमाडौ्रबाट चितवन लगिएको थियो । यसअघि विराटनगर घर भएका ४२ वर्षीया अम्बिका कामत, साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विक, गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगकै कारण मृत्यु भएको थियो ।

भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन् ।


  •  
  •  
  •