चिसोको कारण श्वासप्रश्वासका बिरामी बढे, ६ जनाको मृत्यु

464
  •  
  •  
  •  

रौतहट, ५ पुस (ओएनएस) : पछिल्लो केहि दिन यता बढेको चिसो कारण रौतहट र पाल्पामा ३–३ जनाले ज्यान गुमाएका छन् । रौतहटको सङ्ग्रामपुर गाविसमा शुक्रबारराति चिसोले कठ्याङ्ग्रिएर तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सङ्ग्रामपुर–९ बस्ने ४५ वर्षीय रामनाथ पासवान, सोही गाविस–७ का ५५ वर्षीय अनती भगत राउत र सङ्ग्रामपुर गाविस–१ कै ५० वर्षीय चतुर्गणराय यादव रहेको थाहा भएको छ ।

चिसोका कारण गत दुई हप्ताको अवधिमा नौजनाको मृत्यु भएको गाविसका पूर्व अध्यक्ष किशोरी पटेलले बताउनुभयो ।

श्वासप्रश्वासका रोगी तथा वृद्धवृद्धाको मुटुको भल्भमा समस्या हुने र अत्यधिक चिसोका कारण रगत जमेर मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

यता केहीदिनअघि परेको पानीका कारण चिसो बढेपछि ३ जनाको मृत्यु भएको पाल्पाको रामपुर अस्पतालले जनाएको छ । चिसोमा रातभर कठ्याङ्ग्रिएर ज्यान गएको बताइएको छ । ज्यान जानेमा रामपुर नगरपालिका विजयपुरका २७ वर्षीय जिता घर्ती, रामपुर फोक्सिङ्कोटका ६३ वर्षीय सुमित्रा वाग्ले र साँखर स्याङ्जाका ५५ वर्षीय दलबहादुर मल्ल रहेका छन् ।

चिसोका कारण यस क्षेत्रका निजी क्लिनिक तथा अस्पतालमा दम, रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी बढेको अस्पतालले जनाएका छन् ।

चिसोका कारण हातखुट्टा सुन्निने, निमोनिया, दम, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको चाप यस भेगकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा समेत बढेको अस्पतालका डा प्रकाश अधिकारीले जानकारी दिनुभयो । चिकित्सकले तातो खानेकुरा खान र तातोमा बस्न सल्लाह दिएका छन् ।


  •  
  •  
  •