‘भुसे चुलोको धुवाँमा गुम्सिएर बाबु छोरीको मृत्यु’

697
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : काठमाडौं महनगरपालिका वडा नम्बर ३४ पुरानो सिनामंगलमा भुसको चुलोको धुवाँमा गुम्सिएर एकै परिवारका २ जनाको मृत्यु भएको छ । एक जना बेहोस अवस्थामा भेटिएका छन् ।

अम्बिका बुढाथोकीको घरमा डेरा गरी बस्ने दोलखा जिल्लाको मिर्गे गाविस वडा नम्बर ८ का तिलकप्रसाद दाहाल र उनकी छोरी पुनम दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । तिलकप्रसादकी श्रीमती रमादेवी दाहाल भने बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दाहाल परिवार विहान अवेरसम्म नउठेको र भित्रबाट धुवाँ आइरहेको थाहा पाएपछि प्रहरीलाई खवर गरेको घरभेटी अम्बिका बुढाथोकीले बताइन् । प्रहरीले ढोका फोडेर भित्र पस्दा रमा दाहाललाई ढोका नजिकै बेहोस अवस्थामा भेटेको थियो ।

Mritak babu Chhori
कोठाभित्र मृत भेटिएका तिलकप्रसाद र पुनम दाहाल । तस्विर ओएनएस

Bhus ko chulo
कोठाभित्र धुवाँ आइरहेको भुसको चुलो । तस्विर ओएनएस

उनलाई उपचारका लागि बानेश्वरमा रहेको सिभिल अस्पताल पठाइएको छ । खाना पकाउने क्रममा बालेको भुसे चुलोको आगो निभएँ भन्ने ठानेर सुतेका र पछि आगो सल्किएर धुवाँ आएको र उनीहरु गुम्सिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल पुगेका प्रहरी हवल्दार बिक्रमकुमार विष्टले भने, ‘भित्र कोठाबाट धुवाँ आइरहेको थियो । पहिला त हामीले झ्यालबाट हेर्यौं भित्र दुई जना मरिसकेको जस्तो देखियो । बाहिर जम्मा भएका मान्छेले तिलकप्रसादकी श्रीमती पनि भएको बताएपछि हामीले ढोका फोडेर हेर्न खोज्दा उहाँलाई बेहोस अवस्थामा पायौं र उपचारका लागि पठायौं ।’

घरभेटी अम्बिका बुढाथोकीका अनुसार तिलकप्रसाद सामान्य ज्याला मजदुरी गर्ने गरेका थिए भने रमादेवी र पुनम मकै पोलेर बेच्ने गर्थे ।

भुसे चुलो बालिएको र कोठाका झ्याल ढोका बन्द गरेर सुतेको अवस्थामा कोठामा अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । राती सुत्नु अघि आगोलाई राम्रोसँग निभाएर सुत्ने हो भने यस्ता विपदका घटना ननिम्तने उनीहरुको भनाइ छ ।

Ramadevi Dahal
बेहोस अवस्थामा भेटिएकी रमादेवी दाहाललाई अस्पताल लैजाने तयारी गरिँदै । तस्विर ओएनएस


  •  
  •  
  •