हावाहुरीका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो

आज ६ वर्षीय बालकको निधन
399
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ ।

 


मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम छन् ।

यसअघि घटनामा बारा २६ र पर्सामा १ जना गरी २७ जनाको मृत्यु भएको विवरणसहित सोमबार गृहमन्त्रालयले नामावली सार्वजनिक गरेको थियो ।

घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका छन् भने अन्य घाइतेको बारा र पर्सास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत सोमबार काठमाडौं ल्याइएको थियो । उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।


  •  
  •  
  •