ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, कारबाहीको माग राख्दै प्रदर्शन

330
  •  
  •  
  •  

बैतडी, २६ फागुन(ओएनएस) : बैतडीमा ग्रेडरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
शनिवार अपराह्न ५ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेयको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको हो ।

विद्यार्थीको मृत्युपछि दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आइतबार पाटन बजारमा प्रदर्शन गरिएको छ ।
मृतकका आफन्त र विद्यार्थीहरुले आइतबार पाटन बजार बन्द गरी दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन् ।
पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु ठप्प भएका छन् ।
बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाइनमा पैदल हिँडिरहेका पाण्डेयलाई ठक्कर दिएको थियो । पाण्डेयको घटनास्थलमै मृत्यु भएको थियो । ग्रेडर चालक रतन बुढा भने फरार रहेका छन् ।
फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ ।


  •  
  •  
  •