छोरीलाई मृत्युदण्ड दिएपछि आमाबुवा मुर्छित

260
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) :
साउदी अरवमा मृत्युदण्ड दिइएकी शोभा परियारको परिवार शोकमा डुबेको छ । ३२ बर्षीया शोभालाई मंगलबार मालिकको नावालक छोरा हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको हो ।

‘आमाबाबा मलाई यहाँ आरामै छ । मेरो कुनै चिन्ता नलिनु बरु तपाईंहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्नु नातिलाई पढ्न भन्नु,’ जेठी छोरी शोभा परियारले आइतबार यसो भन्दा ५४ वर्षीया बुद्धिसराको मनमा सन्तोष छाएको थियो । तर त्यसको दुई दिन नबित्दै आरामै छु भनेकी छोरीलाई मृत्युदण्ड दिइएको खवर सुनेपछि बुद्धिसरा र उनका ६४ वर्षीय श्रीमान् भीमबहादुर मुर्छा परेका छन् ।

जेलमा रहेकी उनले मोबाइलमा सन्चो बिसन्चोको कुराकानी गर्दा चाँडै नै छुटेर घर आउने बताएकी थिइन् । भिमाद ३, भावरका आमाबुबा र २२ वर्षीय बहिनी रेखालाई सम्झाउन छिमेकी र आफन्त आइपुगेका छन् । शोभाकी ११ वर्षीय छोरा दिवस स्थानीय बालज्योति प्राविको कक्षा ५ मा पढ्छन् । विद्यालयमा पढ्न गएकाले मृत्युदण्डको खबरबारे दिवसलाई कुनै जानकारी छैन । जन्मजात ओठ फाटेका दिवसका बाबुले कान्छी श्रीमती ल्याएपछि उनी मामाघर बस्दै आएका थिए ।

‘दिदीलाई यस्तो मृत्युदण्ड दिइएला भन्ने कत्ति पनि ठानेका थिएनौं,’ रेखाले रुदै भनिन्, ‘हाम्रो परिवारमा सहनै नसकिने गरी ठूलो बज्र पर्यो । दिवसले ममी कहिले आउनुहुन्छ भनेर सोध्दा के भनेर जवाफ दिने ?’ सार्वजनिक सञ्चार माध्यममा दिदीको मृत्युदण्डको खबर सुनेपछि साउदीका लागि नेपाली राजदूतसँग बुझेर समाचार साँचो भएको खबर पाएपछि घरमा रुवावासी सुरु भएको छ । आमा र बाबु मुर्छा पर्दै बर्बराउने गरेका छन् । ‘हामीलाई खुसी दिने छु भन्दै विदेश गएकी थियौं,’ आमा बुद्धिसराले रुदै भनिन्, ‘यो कस्तो खबर सुन्नुपर्यो । अब हामीलाई सञ्चो बिसञ्चो सोध्दै कसले फोन गर्ला ।’

घरेलु कामदारको रुपमा चार वर्षअघि साउदी हिंडेकी शोभाले आफूले यातनाको प्रतिकारका क्रममा घर मालिकका २ वर्षीय छोराको मृत्यु हुन पुगेकाले जेलमा रहेको कुरा २०७० चैत ३१ गते बताएकी थिइन् । मालिकले आफूलाई जेलमुक्त गराउने र स्वदेश फर्काउने बताएको आफूहरूलाई फोनमा भन्ने गरेको रेखाले बताइन् । शोभाले भानुमति ९ स्थित हिमालय उच्चमाविबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान्ले अर्की युवतीसँग विवाह गरेर छुट्टै बस्दै आएपछि छोराको भविष्यका लागि शोभाले विदेशको बाटो रोजेकी थिइन् । उनलाई घरमालिकका दुई वर्षीय छोरालाई घाँटी रेटेर मारेको आरोपमा मंगलबार अरारनगरमा मृत्युदण्ड दिइएको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •