काठमाडौं २४ भदौ (ओएनएस) : महोत्तरी र सप्तरीमा भएको हिंसात्मक प्रदर्शनमा ५ जनाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वरमा भएको झडपमा प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ । तीन जनाको महोत्तरीमा र एक जनाको उपचारका क्रममा गएराती काठमाडौंको नर्भिक अस्प्तालमा मृत्यु भएको हो ।
जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापर सहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको छ ।
मधेसी मोर्चाले सदरमुकाम जलेश्वरमा निकालेको जुलुसका क्रममा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरी धावा बोलेपछि प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर थप ७ जना गम्भीर घाइते भएका छन् । गम्भी घाइतेमध्ये तीनजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मारिएका सबैजनाको घुँडाभन्दा माथि गोली लागेको छ।
सप्तरीमा एकको मृत्यु
राजविराज संवाददाता जितेन्द्र खड्गाका अनुसार सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको छ । पोर्ताहा गाविस १ का ६३ बर्षीय रामकिशुन राउतको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो । छातीमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भयो । राउतका एक श्रीमती र दुई छोरा छन् । भदौ १ गते भारदहमै प्रहरीको गोलीले अर्का आन्दोलनकारी राजीव राउतको मृत्यु भएको थियो ।
गोली लागेर बिजय खिडहरी, वीरेन्द्र खिडहरी, अनिल ठाकुर, बंशी खडगालगायत प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएको एसपी शिशिर कर्माचार्यले बताए । प्रदर्शनकारीले सडकमा राखेका अवरोध हटाउन खोज्दा झडप भएको थियो । आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।