नेपाली महिलालाई साउदीमा टाउको काटेर मृत्युदण्ड

424
  •  
  •  
  •  

दुई वर्षे एक बालक शिशुको हत्या गरेको अभियोगमा नेपाली महिलालाई मृत्युदण्ड दिइएको छ । घाँटी काटी शिशुको हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदार महिलालाई सोमबार अधिकारीहरूले टाउको काटेर मत्युदण्ड दिएको त्यहाँको गृहमन्त्रालयले जानकारी दिएको छ । यी घरेलु कामदार महिलाले साउदी शिशु ओसामा बिन मइद अल–एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा निजलाई दोषी पाइएको मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दियो भनी सरकारी समाचार संस्था एसपीएले उल्लेख गरेको छ । मन्त्रालयले यस अपराधका विषयमा थप विस्तृत विवरण दिएको छैन ।

एएफपी समाचार संस्थाका अनुसार सुनितालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो। निकै परम्परावादी मानिने साउदीमा यस वर्ष मृत्युदण्ड दिइएका व्यक्तिको संख्या १६ पुगेको एएफपीले जनाएको छ। सन् २०१३ मा साउदी अरेबियामा ७८ व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो।

गत वर्ष मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले सन् २०११ पछि साउदीमा मृत्युदण्डको फैसला बढ्न थालेको भनी आलोचना गरेको थियो। मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था एमनेस्टी इन्टरनेसनलका अनुसार साउदीमा सन् २०१० मा २७ व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो भने सन् २०११ मा यो संख्या ८२ पुगेको थियो। यसमा २८ जना विदेशी नागरिक रहेको पनि एमनेस्टीले जनाएको थियो।

साउदी अरेबियामा सन् २०१२ मा ७९ जनालाई मृत्युदण्ड दिइएको थियो। त्यसमा २७ विदेशी नागरिक थिए। साउदी अरेबियामा इस्लामी सरिया कानुन लागू हुन्छ। यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डकैती तथा लागूपदार्थ बेचबिखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड दिइन्छ।

 


  •  
  •  
  •