अर्जेन्टिनी फुटबल अध्यक्षको निधन

315
  •  
  •  
  •  

काठमाडौं १६ साउन (एजेन्सी) :
अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष एवं विश्व फुटबल महासंघ (फिफा) का उपाध्यक्ष जुलियो ग्रोन्डोनाको बुधबार निधन भएको छ। सन् १९७९ देखि लगातार एएफएको नेतृत्व गर्दै आएका ८२ वर्षे उनलाई शक्तिशाली व्यक्तिमा हेरिन्थ्यो। मुटुमा समस्या देखिएपछि अस्पताल लगेर आकस्मिक शल्यक्रिया गर्ने क्रममा उनको मृत्यु भएको बताइएको छ।

साताको सुरुआतमा ग्रोन्डोनाले राष्ट्रिय टोलीका प्रशिक्षक अलेहान्द्रो साबेलासँग उनको भविष्यको विषयमा छलफल गरेका थिए। साबेलाले पदावधि सकिएपछि थप सम्झौता नगर्ने प्रस्ट पारेको बताइएको छ। साबेलाको प्रशिक्षणमा अर्जेन्टिना ब्राजिलमा सम्पन्न विश्वकपको फाइनलमा पुगेको थियो। फाइनलमा टोली जर्मनीसँग १–० ले पराजित भयो।
१९८८ मा कार्यसमिति सदस्य हुँदै ग्रोन्डोना फिफा प्रवेश गरेका थिए। त्यसपछि उनले फिफाको आर्थिक समितिको पनि नेतृत्व गरे। फिफा कार्यसमितिमा पुग्नु ९ वर्षअघि नै देशमा सेनाको सरकार हुँदा उनी एएफएका अध्यक्ष बनिसकेका थिए। देशका २२ हजार क्लबबाट बिनासर्त समर्थक पाइरहेका कारण १९७९ यता हरेक चार वर्षमा उनी निर्वाचित हुँदै आएका थिए।
उनको कार्यकालमा अर्जेन्टिनाले १९८६ मा विश्वकप, १९९१ र १९९३ मा कोपा अमेरिका, २००४ र २००८ मा ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। उनले वर्षौंअघि आर्सनल क्लब पनि स्थापना गरे। टोली अहिले अर्जेन्टिनाको शक्तिशाली क्लबमा गणना हुन्छ।
तर फिफामा आबद्ध भएयता उनी पटक पटक विवादमा मुझिए। हालै मात्र वर्तमान राष्ट्रपति क्रिस्टिना क्रिच्नेरका प्रतिद्वन्द्वीले ग्रोन्डोनामाथि सरकारको लाखौं डलर टेलिभिजनको प्रसारण अधिकारका लागि खर्चेको आरोप लगाएका थिए।


  •  
  •  
  •