मृतकको सामूहिक अन्त्येष्टि

159
  •  
  •  
  •  

10423655_364096017090436_8512101774847968834_nकाठमडौं ९ मंसिर ।
भेरीमा बस खस्दा मृत्यु भएकाहरूको सोमबार ६ ठाउँमा सामूहिक अन्त्येष्टि गरिएको छ । खलंगाको शिवालय घाटमा १४, पिपेखोलामा १२, भुरको रावतगाउँमा आठ, युरीमा चार, दसेरामा दुई, नलघाटमा तीन शवको अन्त्येष्टि गरिएको छ ।

अस्पतालबाट शव गाउँ पुर्‍याउन कठिन भएकाले मृतकको खलंगानजिकैको घाटहरूमा दाहसंस्कार गरिएको हो । जिल्लाबाहिरका चारजनाको भने यसअघि नै आफन्तले शव लगेका छन् ।

शवयात्रामा आफन्तसहित सयौँ सर्वसाधारण सहभागी थिए । जाजरकोट अस्पतालको गेटबाट सोमबार लहरै शव निकालिएपछि सबैको आँखाबाट आँसु खसेका थिए । खलंगा बजार बन्द गरेर व्यापारी तथा सर्वसाधारण सबै मलामी गएका थिए । जिल्लामा ठूलो दु:ख परेकाले बजार बन्द गरेर आफूहरू मलामी आएको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले बताए ।

दुर्घटनामा तीन घरका परिवारका सबै सदस्यको मृत्यु भएको छ । रामीडाँडाका दीपबहादुर बुढा, ढिमेका उज्ज्वल मल्ल र खगेनकोटका नन्दप्रसाद शर्माको परिवारका सबै सदस्यले दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा परेका ४७ जनाको शव भेटिएको छ । सातजना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु भएका सबैको परिचय खुलेको र हराएकाको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए ।

छिन्चु–जाजरकोट सडकअन्तर्गत भुर गाविसको रावतगाउँखण्डमा बिहीबार बिहान बस दुर्घटना भएको थियो । सदरमुकाम खलंगाबाट सुर्खेतको राकमतर्फ जाँदै गरेको ना.३ख १४०८ नम्बरको बस सडकबाट ५० मिटर तल भेरीमा खसेको थियो ।
वीरबहादुर गिरी/नयाँ पत्रिका


  •  
  •  
  •