अनुसन्धानअनुसार आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल’ भनिने मदन पौडेल हत्यामा संलग्न थिए। यी तीनै जना माओवादी कार्यकर्ता हुन्। लामिछाने र पौडेलको द्वन्द्व क्रममा सुरक्षा कारबाहीमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
यही निष्कर्षका आधारमा प्रहरीले आयरल्यान्डमा रहेका आचार्यलाई पक्राउ गर्न सहयोग माग्दै २०७० फागुन २१ गते ‘डिफ्युजन’ नोटिस जारी गरेको थियो। यसको प्रत्युत्तरमा बेलायतस्थित इन्टरपोलको एनसिबीले अदालतको नोटिस मागेको थियो । यसअनुसार चितवन जिल्ला अदालतले पक्राउ आदेश जारी गरिसकेको छ। उक्त आदेश नेपालस्थित एनसिबीले बेलायत एनसिबीलाई पठाइसकेको स्रोतले बतायो ।
२०५७ मा माओवादीमा लागेका चितवन, रत्ननगर नगरपालिका–८ का आचार्य माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट’ भिसामा बेलायत गएको प्रहरीको भनाइ छ। जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाका हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको अभियोगमा कानुनी प्रक्रिया जारी छ।
यसबीच नन्दप्रसाद र गंगामायाको अनशन तोडाउन पटकपटक प्रयास भए पनि उनीहरू मानेका थिएनन्। दाजु नुरप्रसादले अनशन तोडेबापत राज्यसँग ठूलो रकम माग गरेको पनि चर्चामा आएको थियो।
हत्याकाण्डको फेहरिस्त
यो हत्याकाण्ड माओवादी द्वन्द्व बेला २०६१ जेठ २४ मा भएको थियो। त्यस दिन १८ वर्षीय कृष्णप्रसाद एसएलसी परीक्षा दिएर हजुरबा–हजुरआमा भेट्न गोरखा, फुजेलबाट चितवन आएका थिए। राति ८ बजेतिर नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल हुइकिँदै आएर उनको सामुन्ने रोकियो। मोटरसाइकलमा तीन जना सवार थिए। तिनले कृष्णप्रसादलाई आफ्नो कब्जामा लिए।
त्यसै रात चितवन नगरपालिका–८ को बकुलहरचोकमा गोली हानेर उनको हत्या गरियो।
दोस्रो दिन नै कृष्णप्रसादका बाबु नन्दप्रसादले ‘मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले हत्या गरेको’ भन्दै कर्तव्य ज्यानअन्तर्गत घटनामा संलग्नको खोजतलास र कारबाही माग गर्दै जाहेरी दिए। उनले कसैको नाम किटान गरेनन्। प्रहरीले उनको यो जाहेरीका आधारमा अनुसन्धान अघि बढाएन।
अनशनकै दबाबका कारण राष्ट्रिय मानवअधिकार आयोगले पुरानो निर्णय सम्झाउँदै २०७० साउन २८ गते सरकारलाई पत्र पठायो। लगत्तै प्रहरीले २०७० भदौ २१ गते मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार आरोपितमध्येका रामप्रसाद अधिकारीलाई काठमाडौंको बागबजारबाट पक्राउ गर्यो।
२०७० चैत ३० मा चितवन जिल्ला अदालतमा अधिकारी हत्या प्रकरणमा पहिलोपटक मुद्दा दायर भएको थियो।
अदालतमा सर्वस्वसहित जन्मकैद माग गर्दै सरकारी वकिल एकनारायण लम्सालले मुद्दा दायर गरेका थिए।
किटानी जाहेरीमा नाम नपरेका थप दुई जना गोरखा, फुजेलकी जानुका पौडेल र चितवन रत्ननगरका रुद्र आचार्यविरुद्ध पनि मुद्दा दायर भयो। प्रहरी अनुसन्धानमा जानुका र रुद्रको संलग्नता देखिएपछि उनीहरूलाई पनि अभियुक्त बनाइएको थियो।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोद मोहन आचार्यको इजलासले संलग्न प्रमाणका आधारमा अभियुक्तहरूमाथि सर्वस्वसहित जन्मकैद हुने गरी मुद्दा चलाउन नमिल्ने जिकिर गर्दै त्यो बेला प्रहरीले नियन्त्रणमा लिएकालाई धरौटीमा छाड्ने आदेश दियो।
चैत ६ गते समातिएका छविलाल र भिमसेन पौडेल न्यायाधीश आचार्यको आदेशबमोजिम २०७१ वैशाख ४ मा धरौटीमा रिहा भए। भिमसेनलाई २७ हजार र छविलाललाई २० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिइएको थियो। यी दुई जना कसुरदार हुन् भनी यकिन गर्न सकिने वा विश्वास गर्न सकिने आधार नभएको हुँदा थुनामा राख्नुपर्ने अवस्था नरहेको न्यायाधीश आचार्यको आदेशमा उल्लेख छ। घटनामा तत्काल प्राप्त हुने प्रमाणको अभाव देखिएको आचार्यको जिकिर छ।
तीन अझै फरार
कृष्णप्रसाद हत्या प्रकरणमा छविलाल, भिमसेन, रामप्रसाद, रुद्र, जानुका र अजिबसँगै सीता अधिकारी, सुभद्रा तिवारी, मेघनाथ पौडेल, कालिप्रसाद पौडेल, हिमलाल अधिकारी पनि अभियुक्त कायम भएका छन्। त्यस्तै अन्य अभियुक्तमा रामप्रसाद अधिकारी नै नाम भएका अर्का व्यक्तिसमेत छन्। विष्णु तिवारीविरुद्ध पनि अभियोग छ।
चितवन जिल्ला अदालतबाट प्राप्त जानकारीअनुसार रुद्र, रामप्रसाद र सुभद्रा तिवारीबाहेक अरू अदालतमा हाजिर भएर धरौटी र साधारण तारेखमा छुटेका छन्। सीता र जानुका पनि साधारण तारेखमै छुटेका हुन्।
नन्दप्रसाद र गंगामायाले अनशन थालेपछि दबाबमा परेको सरकारले अनुसन्धानमा जिल्ला तहको प्रहरीसँगै तत्कालीन डिआइजी गणेश राईको संयोजकत्वमा केन्द्रीय तहमा समेत समिति बनाएको थियो। हत्या अभियोगको मिसिलमा गोली कसले हानेको हो भन्ने किटान गर्ने प्रमाणको अभावमा मुद्दा प्रक्रिया रोकिएको थियो।
पछिल्लो अनुसन्धानबाट भने गोली हान्ने रुद्र आचार्यकै पहिचान भएकाले मुद्दा प्रक्रिया अघि बढ्नेमा अनुसन्धानमा खटिएकाहरू आशावादी बनेका थिए।