सुत्केरीको मृत्युपछि अस्पतालमा नाराबाजी

273
  •  
  •  
  •  

मोरङ । विराटनगरको नोवेल शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् ।

सामान्य प्रसुतिबाट बच्चा जन्माएकी सुनसरीको रामधुनी निवासी पार्वती कार्कीको मृत्युपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

आफन्तले सामान्य प्रसुतिका क्रममा दोश्रो सन्तान भएसँगै उपचारका क्रममा लापारवाही भएको आरोप लगाएका छन् ।
३५ वर्षीया कार्कीको मृत्यु भएसँगै अस्पतालमा आफन्तले नाराबाजी गर्दै उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग समेत गरिएको छ ।

पार्वतीलाई प्रसूतिका लागि सोमबार नोवेलमा भर्ना गरिएको थियो । मंगलबार बिहान उनले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् ।

अत्याधिक रक्तश्राव भएको भन्दै चिकित्सकले उनलाई दिउँसो करिब २ बजे पाठेघरको शल्यक्रिया गर्नुपर्ने बताउँदै अप्रेशन थिएटरमा लगेको आफन्तले बताएका छन् । शल्यक्रियामा १७ पिन्ट रगत चढाए पनि बचाउन नसकिएको भन्दै अस्पतालले बुधबार बिहान पार्वतीलाई मृत घोषणा गरेको थियो ।

अस्पतालका चिकित्सकले समयमै ध्यान दिएर विरामीको उपचार सुरु गरेको भए सुत्केरीको मृत्यु नहुने आफन्तको गुनासो छ । अस्पतालले भने चिकित्सकले लापरबाही नगरेको दाबी गरेको छ ।


  •  
  •  
  •