१३ दिने मृत्यु संस्कार पाँच दिनमै

83
  •  
  •  
  •  

काठमाडौं १९ पुस ।
निजामती सेवामा सहसचिव र उपसचिव रहेका दुई दाजुभाइले आफ्ना बुबाको काजकिरिया पाँच दिनमात्र गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव तारा पोखरेल र उनका दाजु सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ब्रजमोहन पोखरेलले बुधबार साँझ निधन भएका बुबा बज्रमोहनको काजकिरिया पाँच दिनमै सक्ने निधो गरेका हुन्।

उदयपुर तावाश्रीका ब्रजमोहनका दुई छोरीसमेत बुबाको किरिया गर्ने दिन घटाउन सहमत छन्। बज्रमोहनका ज्वाइँ सुकदेव न्यौपानेले शुक्रबार भने, ‘आज तेस्रो दिन प्रथम षोडसी सकियो। मध्यम षोडसी खिचेर एघारौं दिनको काम भयो।’ उनका अनुसार चौथो दिनमा एघारौं दिनमा गर्ने मध्यम षोडसी र पाँचौं दिनमा बाह्रौं दिनमा गर्ने शुद्धशान्ति (सपिण्डी श्राद्ध) गर्ने काम हुनेछ।

बज्रमोहनकी आफन्त इन्दिरा दाहालले पाँच दिनमै काजकिरिया सक्ने बुझेपछि सन्तानले आफ्नो काम पनि पाँच दिनभन्दा बढी गर्नु आवश्यक नभएको बताइन्। उनले भनिन्, ‘सासूससुराको १३-१३ दिनको काजकिरिया गर्दा सबै कुरा बुझें, कतिपय प्रक्रिया सुधार्नुपर्ने आवश्यक देखेकी थिएँ। सबै विधिविधान पाँच दिनमै सकिने रहेछ। म पनि छोराछोरीलाई पाँच दिनभन्दा बढी नगर्नु भन्छु।’

पुनरावेदन अदालत पाटनका पूर्वन्यायाधीश काशीनाथ पोखरेलले बज्रमोहनको काजकिरिया घटाएर गर्न लागेकाले नयाँ अभ्यास स्वागतयोग्य भएको बताए। उनले भने, ‘दिन छोट्ट्याए पनि सबै विधिविधान पूरा हुने पण्डितले बुझाएपछि म विश्वस्त भएको छु।’

चण्डेश्वरले अभिभावक, काका, हजुरबुबा, पोखरेल बन्धुको साझा मत समयसापेक्ष ढंगले काजकिरिया गर्दा हुन्छ भन्ने आएपछि मृत्यु संस्कार पाँच दिनमा सक्न लागेको बताए।

उनले भने, ‘बुबाको पनि काजकिरिया घटाउने इच्छा थियो। उहाँले लिखित रूपमै विधिविधान नघटाई पाँच दिनमा झारे हुन्छ भन्नुभएकाले छोट्ट्याएका हौं।’ आर्यघाटमा चिता जलाउने क्रममा बज्रमोहनले लिखित रूपमा पाँच दिने मृत्युसंस्कार गर्न दिएको पत्र वाचन गरी मलामीलाई सुनाइएको थियो।

चण्डेश्वरले काजकिरिया गर्ने पण्डितसँग सम्पर्क राखेपछि पाएका तर्कहरूले पनि सन्तुष्ट बनाएको बताए। पण्डित रुद्र आचार्यले धर्म सिन्धु, निर्णय सिन्धु, पराशर स्मृति र मनु स्मृतिका आधारमा पाँच दिनमै मृत्यु संस्कार गरिरहेको बताए।

किरिया घर पुगेका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका उपसचिव ठाकुर निरौलाले भने, ‘यति सहज र सही काम हुनेरहेछ, सन्तानले पाँच दिन नै गर्दिए भने ठूलो कुरो भइहाल्यो नि। समाजको डरले गर्लान् कि नगर्लान् भन्ने चिन्ता हो।’

मृत्यु संस्कारलाई पाँच दिनमा झार्नुपर्छ भनेर अभियान चलाउँदै आएका शंकरप्रसाद पोखरेलले बज्रमोहनका सन्तानले गरेको प्रयासले समाजमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले भने, ‘आँटिलाहरूले हाकाहाकी संस्कारमै कटौती गर्न थालेको अवस्था हो यो। ढिलोछिटो यो पाँच दिनमा झर्छ।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •