शवको पनि न्याय हुन सकेन

381
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर ।
न्यायको माग राखी अनशनरत अवस्थामै दुई महिनाअघि मृत्यु भएका नन्द्रप्रसाद अधिकारीको शवको अझै अन्तिम संस्कार भएको छैन । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) मनाउने तयारी भइरहेका बेलामा छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशनै ज्यान गुमाएका अधिकारीको शव साढे दुई महिनादेखि शिक्षण अस्पतालमा अलपत्र रहेकोबारे चासो देखाइएको छैन । न त वीर अस्पतालको आईसीयूमा उपचाररत उनकी श्रीमती गंगामायाकै मानवअधिकारबारे कुरा उठ्ने गरेको छ ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै गोरखा फुजेलका अधिकारी दम्पती आमरण अनशन बसेका थिए । अस्पतालमै अनशनका क्रममा ३ सय ३३ दिनमा नन्द्रप्रसादको गत असोज ६ गते मृत्यु भएको हो । कृष्णप्रसादलाई ०६१ जेठ २४ मा चितवनको बकुलर चोकमा हत्या गरिएको थियो । माओवादीले १७ वर्षे छोराको अपरहणपछि हत्या गरेको दम्पतीको आरोप छ ।

पतिको मृत्युपछि पनि अनशनरत गंगामायाले सरकारले माग पूरा गराउने ५ बुँदे सम्झौतामा प्रतिबद्धता जनाएपछि कात्तिक १ मा तरल पदार्थ मात्र खाने सहमतिमा अनशन तोडेकी थिइन् । लामो अनशनले उनको स्वास्थ्य अत्यन्तै नाजुक थियो । उपचारकै लागि उनलाई लामो समय अस्पताल बस्नुपर्नेछ ।

कात्तिक १० मा मन्त्रिपरिषदले नन्दप्रसादको शव हिन्दु परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय लिएको थियो । तर हालसम्म दाहसंस्कार गरिएको छैन ।

प्रधानमन्त्री कार्यालयका उपसचिव विनोद गौतमले सरकारले गंगामायाकै उपस्थितिमा छोरा नुरप्रसादबाट अन्त्येष्टि गराउन चाहे पनि नुरप्रसाद सम्पर्कमा नआएकाले ढिलाइ भएको बताए । प्रक्रियाअनुसार सरकारले शव जलाउने निर्णय गरेपछि ३५ दिनसम्म कोही आफन्त आउलान् कि भनेर पर्खनुपर्ने हुन्छ । हालसम्म पनि कोही नआएपछि शवको अन्त्येष्टि कसरी गर्ने भन्ने अन्योल छ । प्रहरी ऐनमा बेवारिसे शव अध्ययनका लागि शिक्षण संस्थानलाई दिने कि प्रहरी र स्थानीय निकायको सहयोगमा सदगत गरिने व्यवस्था छ । हालसम्म प्रधानमन्त्री कार्यालयले समन्वय गरिरहेको र शवको अन्त्योष्टि गर्ने काम गृह मन्त्रालयको भएको उनले जानकारी दिए ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले हिन्दु परम्पराअनुसार शवको दाहसंस्कार गर्नुपर्ने हुँदा परिवार तथा आफन्त पर्खनुपर्ने भएकाले ढिला भएको हो । ‘छोरा सम्पर्कमै आउँदैनन्, श्रीमतीको स्वास्थ्य अवस्था दाहसंस्कार गर्न सक्ने गरी तन्दुरुस्त छैन,’ उनले भने । उनका अनुसार यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गरेर त्यस मितिभित्र कोही नआए बेवारिसे शवसरह सरकारले अन्त्येष्टि गर्न सक्नेछ ।

अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितका अनुसार गंगामायाको स्वास्थ्यस्थिति सुधार भइरहेको अवस्थामा पित्तथैलीमा पथरी देखिएका कारण पेट दुख्ने समस्या थपिएको छ । ‘पित्तथैली र सीबीडी नलीमा पथरी भएकाले शल्यक्रिया नगरी उपचार गर्न सकिँदैन,’ उनले भने । गंगामायालाई पेट दुख्न थालेको तीन दिनपछि मुखबाट खान बन्द गराएर नसाबाटै औषधि दिइरहेको उनले बताए । अस्पतालमा रहेकी आमालाई एकपटक हेर्न समेत नुरप्रसाद नआएको निर्देशक पण्डितले जानकारी दिए ।

मानवअधिकार आयोग गंगामायाको जीवनरक्षामा केन्द्रित भएको अध्यक्ष अनुपराज शर्माले बताए । ‘गंगामायालाई हामी न्याय दिलाउँछौं । तपाईं बाँच्नुपर्छ भनेर निरन्तर सम्झाइबुझाइ गरेकैले अनशन तोडाउन सफल भयौं,’ उनले भने, ‘शवबारे चाँडै दाहसंस्कार गरियोस् भन्ने पहल गरिरहेका छौं ।’ मृत्यु भइसकेको व्यक्तिको भन्दा पनि गंगामायाकै ज्यान बचाउनु ठूलो भएकाले यसैमा केन्द्रित हुनुपरेको उनले बताए ।

मानव अधिकारकर्मी चरण प्रसाईका अनुसार दोषीलाई कारबाहीको अलिकति पनि प्रक्रिया अघि नबढेसम्म शवको अन्त्येष्टि नगर्ने गंगामायाको मनसाय भएकाले पनि सरकारले ढिलाइ गरेको हुनुपर्छ । ‘सरकारले प्रतिबद्धता जनाएअनुसार दोषीलाई कारबाही गर्ने बुँदामा मात्रै काम भए पनि शवको अन्त्येष्टि गर्न उहाँले अनुमति दिनुहुन्छ,’ उनले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •