इमरजेन्सीमा म्याद सकिएका औषधी

303
  •  
  •  
  •  

विराटनगर, २४ फागुन(ओएनएस) : विराटनगरको सप्तकोशी नर्सिङ होमबाट म्याद सकिएका औषधी फेला परेको छ । अस्पतालको इमरजेन्सीबाट वाणिज्य, आपुर्ति तथा सामान्य प्रसासन मन्त्रालयको निर्देशनमा काठमाडौँबाट आएको अनुगमन टोलीले आइतबार अस्पतालबाट म्याद सकिएका औषधी फेला पारेको हो ।

अनुगमन टोलीले म्याद सकिएका ११ प्रकारका १९ थान इन्जेक्सन तथा औषधी फेला परेको जनाएको छ । फेला परेका औषधीहरु दुई महिनादेखी एकवर्ष अगाडि नै म्याद सकिएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले जानकारी दिए ।

म्याद सकिएका औषधीहरुमा सोडियम कार्बोनेट नामक सुइ, यसैगरी एमिनो फाइलिन डोपामिन तथा श्वास प्रस्वासमा प्रयोग गरिने औषधी रहेको बताइएको छ । इमरजेन्सी बार्डको दराजभित्र राखेको अवस्थामा औषधी फेला परेको थियो ।

अस्पतालका प्रमुख डा. नारायण बस्नेतले फेला परेको औषधी अस्पतालले प्रयोग नगरेको बताए । उनले औषधी खाल्डो खनेर बिसर्जन गर्नका लागी राखिएको बताएका छन् । कर्मचारीको लापरवाहिवाट बिर्सजन गर्नुपर्ने औषधी इमरेजेन्स कक्षमा राखिएको उनको भनाइ छ ।

मन्त्रालयले नेपाल प्रसासनिक प्रशिक्षण प्रतिस्ठान नास्कबाट देशभरी अनुगमनका लागी अध्ययनरत अधिकृतहरुलाई खटाएको थियो ।


  •  
  •  
  •