दाताहरु काठमाडौं आइपुग्दै, भोलि भूकम्प प्रभावित जिल्लामा जाने

165
  •  
  •  
  •  

काठमाडौं ८ असार (ओएनएस) : दाता सम्मेलनमा सहभागि हुने विभिन्न देशका प्रतिनीधि नेपाल आउन थालेका छन् । सरकारले आयोजना गर्ने दाता सम्मेलनका लागि दाता राष्ट्रका अतिथिहरु आजबाट आउनेक्रम सुरु हुने भएको छ । पर्सी सरकारले गर्न लागेको दाता सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरु आजदेखि काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु काठमाडौं आइसक्नु भएको छ । छिमेकी भारत र चीनले विदेश मन्त्रीहरु पठाउने भएका छन । नर्वे, जापान, भुटान, बंगलादेश र श्रीलंकाबाट पनि मन्त्रीस्तरको सहभागिता रहनेछ । युरोपेली युनियनले उच्चायुक्त पठाउने छ ।

एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ । भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्ने टुंगो लागेको छ । । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ । सरकारले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति बनाएको थियो ।

नेपाल आइपुगेका सहभागीलाई भोलि काठमाडौं र आसपासका भुकम्प प्रभावित क्षेत्रका स्थलगत अवलोकन गराइने छ । अर्थको निर्देशनमा परराष्ट्रले त्यसको ब्यवस्थापन गर्नेछ । पर्सी सोल्टी होटलमा हुने सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले वर्तमान अवस्था चित्रण गर्दै उद्घाटन गर्नेछन ।

को-को आउने भए दाता सम्मेलनमा ? पढ्नुहोस् नामावली


  •  
  •  
  •