दशैका लागि ३४ सय खसिबोका ल्याउने खाद्यको तयारी

308
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं ३० साउन (ओएनएस) : चाडपर्वको मौसम सुरु भएसँगै खाद्यसंस्थानले दशंैका लागि ३ हजार ४ सय खसिबोका ल्याउने तयारी गरेको छ । दशैंमा विशेषगरी काठमाडौं उपत्यकाका जनतालाई विशेष सहुलीयतमा मासु उपलब्ध गराउने उद्देश्यका साथ खसीबोका ल्याउने तयारी थालिएको  संस्थानका नायव महाप्रवन्धक नवराज उपाध्यायले बताए । ‘उपत्यकाको माग र खपतलाई मध्यनजर गर्दै ३४ सय खसिबोका ल्याउन लागेको हो’ उनले भने ।
संस्थानले गत बर्षपनि यती नै सङख्यामा खसिबोका विक्री गरेको थियो । आवश्यक परेको अवस्थामा थप खसिबोका विक्री गर्न सकिने उनले जानकारी दिए । संस्थानले नेपालगञ्ज,सुर्खेत,डेटौडा,विरगञ्ज,सिराहालगायत जिल्लाबाट खसिबोका ल्याउन लागेको बताएको छ । ती जिल्लाबाट खसिबोका खरिद गरी लागत मूल्य मात्र राखेर खसी बोका विक्री गर्ने उपाध्यायले बताए । खाद्यले विगतमा जस्तै थापाथलीस्थित कार्यालयबाट खसिबोका विक्री गर्ने जनाएको छ ।
सुपथ मूल्यका पसल असोज देखि
यसैवीच सरकारले असोज १ देखि सुपथ मूल्यका पसल सञ्चालनको तयारी सुरु गरेको छ । दशै तिहार तथा छठलाई लक्षित गर्दै असोज १ देखि यस्तो पसल सञ्चालन गर्न लागिएको वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले बताए । चाडपर्वमा दैनिक उपभोग्य सामग्रीको आपूर्ती सहज गराउने तथा कालोबजारी रोक्ने उद्देश्यले सुपथ मूल्यका पसल खोल्न लागेको उनले जानकारी दिए ।

मन्त्रालयको समन्वयमा वाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागले पसल सञ्चालन गर्छ । न्यून आय भएका उपभोक्तालाई लक्षित गर्दै यस्तो पसल सञ्चालन गर्न लागेको वाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले बताइन् । साल्ट ट्रेडिङ,नेशनल ट्रेडिङ र खाद्य संस्थानले बाट सूपथ मूल्य पसल सञ्चालन गरिने उनले जानकारी दिइन् ।

उनका अनुसार यस बर्ष उपत्यकाका टेकु,कालिमाटी,कोटेश्वर,भक्तपुर,थापाथलीलगायत १२ स्थानमा सुपथ मूलयका पसल सञ्चालन गर्न लागिएको छ । यस्ता पसलमा नुन,चिनी,दाल,घिउलगायत दैनिक उपभोगय सामग्री विक्रीका लागि राखिन्छ ।

अघिल्लो बर्ष उपत्यकामा ८ ओटा सूपथ मूल्य पसल सञ्चालन गरिएको थियो । त्यस्तै उपत्यकामा मोवाइल भ्यानको समेत प्रयोग गरी खाद्य वस्तुको विक्री वितरण गरिने बताइएको छ । यसैगरी उपत्यका बाहिरका मूख्य व्यापारीक केन्द्रमा समेत यस्ता पसल राख्न लागिएको पौडेलले जानकारी दिइन् । यस्ता सूपथ मूल्यका पसलबाट चिनीको लागत मूल्यमा प्रतिकिलो ५ र नुन तथा चामलको प्रतिकिलो २ रुपैयाँ छुट दिने उनले जानकारी दिइन् ।


  •  
  •  
  •